सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा खेलाडीलाई सम्मान तथा पोशाक वितरण

प्रकाशित समय: बिहिवार, ११ : २८ बजे भदौ १६ गते



ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा खेलाडीलाई सम्मान तथा पोशाक वितरण

ललितपुर, ललितपुर जिल्ला खेलकुद विकास समितिले भुटानमा सम्पन्न पाचौं साउथ एसियन किक बक्सिङ च्याम्पियनसिप २०२२ का पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको छ। भुटानको फुएनसोलिगमा भएको च्याम्पियनसिपमा नेपालबाट भाग लिई ६ स्वर्ण पदक बिजेता खेलाडीहरुलाई समितिले सम्मान गरेको हो। 

 

सम्मानित हुने खेलाडीहरु स्वर्ण पदक विजेता शिवानी श्रेष्ठ,कविन देशार,दल बहादुर घले,भुवन हायु,मुकेश लुइटेल खत्री,जयराम ब्लोन रहेका छन्। उक्त च्याम्पियनसिपमा उत्कृष्ट महिला प्लेयर शिवानी श्रेष्ठ, उत्कृष्ट पुरुष प्लेयर कविन देशार र अनुशासित प्लेयर भुवन हायुले उपाधि प्राप्त गरेको टिम कोच सिहान राज कुमार श्रेष्ठ बताए। समितिले सम्मानित खेलाडीहरुलाई नगद पाँच हजार र  प्रमाणपत्र वितरण गरेको थियो। 

 

त्यस्तै माल्दिभ्समा सम्पन्न साउथ एसियन जुनियर तथा क्याडेट टेवल टेनिस च्याम्पियनसिप २०२२ का तीन जना बिजेतालाई पनि सम्मान गरेको छ। सम्मानित हुने खेलाडीहरु रजत पदक विजेता इभाना थापा मगर, काश्य पदक विजेता रुविन महर्जन र संयोग कपाली रहेका छन्। 

 

सम्मानित हुने खेलाडीलाई वागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता एवं बागमती प्रदेश सभापति इन्द्र बहादुर बाँनियाले नगद र प्रमाणपत्र सहित सम्मान गरेका थिए। 

 

कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गरेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छनौट भएका ९ विद्याका (१३४ खेलाडी, ९ जना टिम कोच  ९ जना टिम मेनेजर) १५२ खेलाडीहरुलाई पोशाक वितरण गरिएको थियो।   भदौं ४-९ गते सम्म जिल्लामा खेलाडी छनौट र छनौट भएका खेलाडीहरु लाई १०-१४ बन्द प्रशिक्षण गरिएको ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन बताए। 

 

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् का पुर्व कोषाध्यक्ष एवं नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि मीनकृष्ण महर्जन, जिल्ला समन्वय समितिका प्रमुख ऋषि देव फुयाँल, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।