काठमाडौं, ५ कात्तिक।हास्यकलाकार तथा अभिनेता हरिवंश आचार्यले सयौँ फिल्ममा अभिनय गरिसकेका छन् । फिल्मसँगै नाटक र महोत्सवमा उनले कैयन क्यारेक्टरको भूमिकामा छन् । तीमध्ये उनलाई सम्झाउने फिल्म ‘बलिदान’को भूमिका समेत हो । हास्यकलाकारको रुपमा स्थापित भएता पनि उनले गम्भीर भूमिका निर्वाह गरेका थिएँ । यिनै अभिनेता आचार्य अहिले ‘महापुरूष’ मा उस्तै भूमिका पाएको बताउँछन् ।
‘बलिदान पश्चात गम्भीर रहेर आफ्नो अभिनय देखाउन पाएको छु । मलाई प्राय यस्ता भूमिका अफर हुदैनन् । म झैँ दर्शकलाई पनि यो उत्कृष्ट लाग्ने विश्वास छ’, अभिनेता आचार्यले भने । फिल्ममा उनले एकल अभिभावकको भूमिका निर्वाह गरेका छन् । फिल्मले हँसाउदा हँसाउदै रुवाउने र रुवाउँदा रुवाउँदै हँसाउने उनी बताउछन् । ‘म काठमाडौं बाहिरका सात सहर समेत घुमेर फर्किएको छु । दर्शकले कन्टेन भएको मनोरन्जनात्मक फिल्म हेर्न चाहेका छन् । उहाँहरूको लागि महापुरूष पर्फेक्ट फिल्म हुनेछ’, उनले भने ।
फिल्मको हेर्दा आफ्नै जीवनसँग मेल खाए जस्तो देखिएता पनि त्यस्तो नभएको उनले बताए । ‘मैले पनि यो अवस्था पार गरेको छु । हेर्दा मेरै कथा जस्तो लाग्ला तर होइन । किनकी मलाई छोराछोरी सबैले साथ् दिएका थिएँ । फिल्ममा सन्तानले बुवाआमालाई बुझ्नु पर्छ भन्ने देखाउन खोजेका छौँ’, अभिनेता आचार्यले भने । आफूले दोस्रो विवाह गरेकोले विस्तारै अभिनयमा फर्किन मदत पुगेको उनले बताए ।
‘श्रीमतीको साथले नै काममा फर्किन सकेको हु । गर्नै पर्ने थियो । समयमै गरे । नगरेको भए पछुताउने रहेछु’, उनले भने । एक्लोपनबाट ग्रसित अभिभावक सामाजिक घेराबन्दीका कारण आफ्नो इच्छा दबाएर बस्नु आफैँमा पिडा हुने निर्देशक भट्टाराई बताउछन् । ‘हामीले समाजको गलत मान्यतालाई तोड्ने प्रयास गरेका छौँ । विषय सरल लागेता पनि गम्भीर छ । तर हामीले पूर्ण मनोरन्जनात्मक शैलीमा कथा भनेका छौँ’, निर्देशक भट्टराईले भने । उनले परिवारसँगै रहे पनि सन्तानले समय नदिदा बुवाआमाले कसरी एक्लोपन महसुस गर्छन् भन्ने कथा फिल्मको माध्यमबाट देखाउन खोजिएको बताए ।
अभिनेता आचार्यले फिल्मले उठान गर्न खोजेको विषय र त्यसलाई बुनिएको पटकथाले आफू अभिनय गर्न तयार रहेको बताए । उनले निर्देशक भट्टराईलाई सरल प्रस्तुतिमा कथा भन्न सक्ने निर्देशकको रुपमा तारिफ गर्ने गरेका छन् । अभिनेता आचार्य भन्छन्,‘प्रदीप भाईले विषय सुनाउदा नै यो भन्नु पर्ने कथा हो भन्ने लाग्यो । उनले गम्भीर विषयलाई सबैले बुझ्ने गरी सरल प्रस्तुति दिएका छन् । फिल्मले गाउँ, समाज, छिमेककै कथा भन्छ ।’
‘मोफसल भ्रमण’ गरेर काठमाडौं फर्किएका अभिनेता आचार्यसँगै फिल्मका अन्यकलाकारहरू शनिवार साँझनयाँ बानेश्वरमा आयोजना हुने ’देउसीभैलो’ कार्यक्रममा सहभागी हुनेछन् । शनिवार साँझ नयाँबानेश्वरमा हुने ’देउसीभैलो’ कार्यक्रममा हरिवंशसँगै मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, जीतु नेपाल, दीपकराज गिरी, दीपाश्री निरौला लगायत सहभागी हुनेछन् ।सामाजिक विषयवस्तुमा आधारित ड्रामा फिल्म ‘महापुरूष’ मा मह जोडीसँगै गौरी मल्ल, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुली लगायतको अभिनय छ ।
यसैफिल्ममार्फत अरुण क्षेत्री र अञ्जना बराईली डेब्यु गर्दैछन् । बाल्यकालदेखी नै मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ठुलो र सानो पर्दामा हेर्दै हुर्किएका अरुणले हरिवंशको कान्छो छोरा र अञ्जनाले मदनकृष्णकी छोरीको भूमिका निर्वाह गरेकाछन् । फिल्ममा प्रदीप भट्टराईको लेख्नसँगै निर्देशन रहेको छ। निर्देशक भट्टराईले जात्रा, शत्रुगते र जात्रै जात्रामार्फत आफूलाई निर्देशनमा स्थापित गरिसकेका छन् । उनले डेब्यु फिल्म ‘जात्रा’ देखि नै दर्शकको विश्वास जिते । शत्रुगते बाहेक जात्रा सिरिजलाई समीक्षकले पनि रुचाए । यिनै भट्टराई अब चौथो फिल्म लिएर आउँन लागेका हुन्। उनी यसपटक यसअघिका फिल्म भन्दा झनै कन्फीडेन्ट छन् ।
षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन , मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गर्दै छन् । फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य / शैलेश श्रेष्ठ , ध्वनि संयोजनमा अमित श्रेष्ठ , रंग संयोजनमा कपिल पराजुली र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ