सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

मनाङको उपाधि यात्रा सहज, आर्मी क्लब कमजोर

प्रकाशित समय: शुक्रवार, ०६ : २७ बजे मंसिर २८ गते



मनाङको उपाधि यात्रा सहज, आर्मी क्लब कमजोर

काठमाडौँ, २८ मङ्सिर  मनाङ मस्र्याङ्दी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा लगातार आठौँ जित निकाल्दै उपाधि यात्रा सहज बनाएको छ । आज सातदोबाटोस्थित एन्फा मैदानमा भएको प्रतिष्पर्धात्मक खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हराउँदै गर्दै मनाङ्ले अपराजित यात्रा कायमै राखेको हो ।

 

मनाङका लागि विजयी गोल विशाल राईले खेलको ३१औँ मिनेटमा गरेका थिए । जितसँगै मनाङले आठ खेलबाट २४ अङ्क जोडेको छ । आर्मी १७ अङ्कसहित चौथो स्थानमा यथावत छ । आर्मी उपाधि होडमा कमजोर सातौँ चरणसम्म अपराजित रहेको त्रिभुवन आर्मी क्लब आजको हारसँगै उपाधि होडमा कमजोर बनेको छ ।

 

मनाङविरुद्व मुख्य तीन स्ट्राईकर भरत खवास, जर्ज प्रिन्स कार्की र नवयुग श्रेष्ठलाई मैदान उतारेपनि आर्मीले गोल गर्न सकेन । पहिलो हाफमा १–० गोलले पछि परेको आर्मीले दोस्रो हाफमा खेलमा फर्कन प्रयास गरे पनि गोल गर्न सकेन । आक्रामक देखिएको खेलमा आर्मीले एक पछि अर्को योजना बुनेपनि गोल गर्न भने सकेन ।

 

खेलको ४७औँ मिनेटमा कप्तान भरत खवासको क्रसमा नवयुग श्रेष्ठले डि बक्सभित्रबाट गरेको हेड सिधै किपरको हातमा परेको थियो । जर्ज प्रिन्स कार्कीले ५३औँ मिनेटमा हानेको बल पोस्टको थोरै माथिबाट बाहिरिएको थियो ।

 

यस्तै ५८औँ मिनेटमा दिनेश हेन्जनले हेडमार्फत मिलाइदिएको पासमा नवयुग गोल गर्न चुके । यता मनाङले समेत दोस्रो हाफमा अग्रता दोब्बर पार्ने थुप्रै मौका गुमायो । खेलको ६०आँै मिनेटमा कमल श्रेष्ठको क्रसमा अडिलाजाले गरेको हेड आर्मीका किपरले बचाएका थिए ।

 

यस्तै ६८आँै मिनेटमा मनाङका कप्तान विराज महर्जनको पासमा एडिलाजाको प्रहारलाई किपर बिट भएको अवस्थामा आर्मीका डिफेन्डर जितेन्द्र कार्कीले गोल हुनबाट बचाए भने ७६आँै मिनेटमा मनाङले अर्को गोल गर्ने मौका गुमायो । भिक्टोरले डि बक्सभित्रबाट प्रहार गरेको बल पोस्टमा लागेर फर्किएको थियो ।

 

मनाङ्का प्रशिक्षक सुमन श्रेष्ठले आजको जितसँगै उपाधि जित्ने सम्भावना बलियो हुँदै गएको बताउनुयो । उहाँले भन्नुभयो, “अब लिगको उपाधि जित्ने सम्भावना ७५ प्रतिशत छ ।” उहाँले थ्री स्टार क्लबविरुद्ध खेल्दाकै रणनीतिअनुसार आजको खेल खेलेको र त्यसमा आफू सफल भएको बताउनुभयो । आर्मीका प्रशिक्षक नविन न्यौपानेले पाएको अवसरको सदुपयोग गर्न नसक्दा हार बेहोर्नुपरेको बताउनुभयो ।

 

मनाङका विदेशी खेलाडीलाई रोक्न नसक्नु कमजोरी भएको उहाँको भनाइ थियो । “हारसँगै हामी उपाधि होडबाट बाहिरियौँ, अबको लक्ष्य बाँकी पाँच खेल जित्दै उत्कृष्ट तीनमा पर्नु हो,” उहाँले भन्नुभयो ।