सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

श्रीलङ्कामा बाढीका कारण ६० हजार प्रभावित

प्रकाशित समय: सोमवार, ०८ : ५४ बजे पुष ९ गते



श्रीलङ्कामा बाढीका कारण ६० हजार प्रभावित

कोलम्बो, ९ पुस श्रीलङ्कामा आएको अधिक बर्षा र बाढीका कारण ६० हजार भन्दा बढी प्रभावित भएका छन् । देशको उत्तरी क्षेत्रमा बर्षापछि आएको बाढीले धेरैलाई विस्थापित समेत गराएको प्रकोप व्यवस्थापन केन्द्रका अधिकारीहरुले सोमबार जनाएका छन् ।

 

प्रभावित मध्ये ११ हजार जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ भने अरुलाई पनि खोजी तथा उद्धार गरिएको अधिकारीहरुको भनाई छ । सोमबार बर्षा रोकिएपछि मौसमी अवस्था सामान्य भएको छ । तर स्थानीयबासिन्दा भने फेरि बर्षा हुनसक्ने र बाढी आउने डरले प्रभावित क्षेत्रमा बस्न मानेका छैनन् ।

 

बाढीले सवैभन्दा धेरै मुल्लाइतीभु, किल्लीनोच्ची, मान्नार, भाभुनिया र जफ्नामा असर पारेको समाचारमा जनाइएको छ । खोजी तथा उद्धारमा खटिएका अधिकारीहरुले अहिले सम्म कुनै मानवीय क्षति तथा घाइते भएको खबर नआएको बताएका छन् ।

 

राष्ट्रपति मैत्रीपाला सिरिसेनाको निर्देशनपछि सेना तथा प्रहरीलाई उद्धार तथा राहत वितरणका लागि घटनास्थलमा खटाइएको छ । प्रभावितहरुलाई पर्याप्त राहत तथा सहयोग प्रदान गर्न कुनै कन्जुस्याई नगर्न पनि राष्ट्रपति सिरिसेनाले निर्देशन दिनुभएको छ ।

 

प्रकोप व्यवस्थापन अधिकारीहरूले भने बाढीका कारण भौतीक संरचनामा भएको क्षतिको विवरण संकलन भइरहेकाले विवरण सङ्कलन भएपछि उनीहरूलाई दिने राहत तथा क्षतिपूर्तीको व्यवस्था गरिने बताएका छन् ।