काठमाडौं- आफू जन्मेको दिन कसलाई विशेष नलाग्ला र ? अझ कुनै घटनाबाट बचेर नयाँ जीवन पाउनेका लागि त्यसपछिको जन्मदिन मनाउन पाउनु ठूलो गौरवको विषय नै हुन्छ। काठमाडौंस्थित ग्रान्डी अस्पतालमा शुक्रबार एक विदेशीको यस्तै विषेश जन्मदिन मनाइयो, जसलाई मर्यो भनेर सबैले आस मारिसकेका थिए।
४७ दिनअघि धादिङको उत्तरी क्षेत्रमा पर्ने रुवी भ्याली घुम्न हिँडेका ताइवानी २१ वर्षीय लियाङ सेङ यु र उनकी पे्रमिका १९ वर्षीया लिउ चेन चुन फागुन २६ गते रसुवा जाने पदमार्ग पाङसाङबाट बेपत्ता भएका थिए । बेपत्ता हुनुअघि तीन दिन उनीहरू तिप्लिङको लवदुङस्थित होमस्टेमा बास बसेका थिए । उनीहरू बेपत्ता भएयता सो पदमार्गको उच्च भेगमा हिमपात भइरह्यो । २२ सय मिटर उचाइमा पर्ने तिप्लिङलगायत उत्तरी बस्ती र क्षेत्र हिउँले ढाकिए । हिमपातबाट जोगिन पाङसाङ पास नारचेतखर्क हुँदै करिब १२ किमि पर होटल भएको सानो सोमदाङ बस्ती झर्न खोज्दा उनीहरू हिउँमा चिप्लेर करिब २ सय मिटर तल खोचमा खसेका थिए । वरिपरि अन्कन्टार छागा र हिउँबाहेक अरु केही थिएन त्यहाँ ।
हराएको ४७ दिनपछि बुधबार भेटिएका उनै लियाङको शुक्रबार अस्पतालमा जन्मदिन मनाइयो । ४७ दिनसम्म हिउँमा फस्दा उनले आफ्नो २२औं जन्मदिन मनाउन पाउँछु भनेर सोचेका थिएनन् । तर बुधबार घटनास्थलबाट उद्धार गरी राजधानी ल्याएर ग्रान्डी अस्पताल भर्ना गरिएका लियाङलाई जन्मदिन मनाइरहँदा दोस्रो जीवन पाएको महुस भइरहेको थियो । मेडिकल डाइरेक्टर पाण्डेले भने उनको स्वास्थ्य अवस्था पनि अहिले सुध्रिँदै गएको छ । उनी बोल्न र खान सक्ने भइसकेका छन् । २२औं जन्मदिनमा केक काट्दै लियाङले भने, ‘मेरा लागि यो जन्म दिनमात्रै होइन, नयाँ जीवन नै हो, हिउँमा पुरिँदा मैले सोचेको थिइन बाँचिन्छ भनेर तर बाँचे । दुःखको कुरा हिउँमा फसेको ४४औं दिनमा सँगै रहेकी पे्रमिका गुमाएँ ।’
लियाङले जन्मदिन मनाउने रहर देखाएपछि अस्पताल प्रशासनले उनको जन्मदिन मनाउने तारतम्य मिलाएको हो । लियाङका आफन्त र पर्यटनमन्त्रीलाई बोलाएर जन्मदिन मनाइएको अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बताए । लियाङको जन्मदिन मनाउन उनका बाबुआमा ताइवानबाट आए । एक महिनासम्म छोरालाई खोज्दा कतै नपाएर घर फर्किएका ती बाबुआमाका लागि यो भन्दा रमाइलो क्षण अरू के हुन सक्ला र ? ‘महिना दिनसम्म छोराका खोजी गर्दा केही पत्ता नलागेपछि आस मारेर घर फर्किएका लियाङका बाबुआमाले छोरालाई अस्पतालमा देख्दा भर्खरै जन्म दिएजस्तो महसुस गर्नुभयो,’ मेडिकल डाइरेक्टर पाण्डेले भने ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ