सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, १८ फाल्गुन २०८० / Friday, 01 March 2024

गोदावरी नगरपालिकाले भन्योः सहकारीको ऋण नतिरे सरकारी सेवा रोक्न बाध्य हुने



प्रकाशित समय: शनिवार, ०८ : ४६ बजे असार ३० गते



गोदावरी नगरपालिकाले भन्योः सहकारीको ऋण नतिरे सरकारी सेवा रोक्न बाध्य हुने

ललितपुर, गोदावरी नगरपालिकाकाले सहकारी संस्थाका ऋणी सदस्यहरुलाई तत्काल ऋण चुक्ता गर्न भन्दै सुचना निकालेको छ । 

 

सहकारी संस्थाबाट ऋण लिई तोकिएको समय भित्र ऋणको सावाँ, ब्याज चुक्ता नगर्ने सदस्यहरुलाई संस्थाले पटक पटक ऋण चुक्ताको लागि ताकेता गर्दा पनि अटेर गरी ऋणको साँवा, ब्याज नतिर्दा संस्थामा बचत कर्ता शेयर सदस्यहरुको रकम फिर्ता गर्न केहि सहकारी संस्थाहरुलाई समस्या परेको भन्दै नगरपालिकाले ऋणी सदस्यहरुलाई सचेत गराएको छ। 

 

नगरपालिकाले समाज तथा विभिन्न सामाजिक सञ्जालहरुमा सहकारीको ऋण तिर्नु नपर्ने वा नतिरे पनि हुन्छ भन्ने जस्ता गैरजिम्मेवारिपूर्ण अभिव्यक्तिहरु समेत सुनिन आएको भन्दै जुन अभिव्यक्ति स्वयं ऋणीहरुको लागी समेत प्रत्युत्पादक हुने जनाएको छ। 

 

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रविण कोइरालाद्वारा हस्ताक्षरित सुचनामा भनिएको छ-"ऋण लिए पछि तिर्नु पर्देन भन्ने कुरा नेपालको प्रचलित ऐन, कानून विपरित हुन्छ"। 

 

"गोदावरी नगरपालिका सहकारी ऐन २०७५ को दफा ६१ बमोजिम कसैले संस्थालाई तिर्न बुझाउन पर्ने रकम नतिरी बाँकी राखेमा त्यस्ता रकम र सोको ब्याज समेत दर्ता गर्ने अधिकारी ( प्रमुख प्रशासकीय अधिकृत) ले त्यस्तो ब्यक्तिको जायजेथाबाट असुल उपर गरिदिन सक्नेछ भन्ने व्यवस्था छ भने दफा ६२ मा दर्ता गर्ने अधिकारी (प्रमुख प्रशासकीय अधिकृत) ले दफा ५८ र ६१ को प्रयोजनको लागि कुनै व्यक्तिको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखि पठाउन सक्ने व्यबस्था समेत रहेको जनाएको छ।" 

 

नगरपालिकाले सहकारीको ऋण नतिरे सरकारी सेवा रोक्न बाध्य हुने भएकाले ऋणीले संस्थामा जे सम्झौता वा सर्त वा कबुलियत गरि ऋण लिएको हो सोहि बमोजिम समयमै आफूले लिएको ऋणको सावाँ, ब्याज रकम दाखिला गरी सहकारीमा देखिएको समस्या समाधानको लागि सहयोग गरिदिन हुन सवै ऋणी सदस्यहरुलाई आग्रह गरेको छ।