सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, २१ आश्विन २०८१ / Monday, 07 October 2024

एप्पललाई ठुलो झट्का, २ सय बिलियन डलरले मूल्य घट्यो

प्रकाशित समय: शनिवार, ०८ : ४६ बजे भदौ २३ गते



एप्पललाई ठुलो झट्का, २ सय बिलियन डलरले मूल्य घट्यो


चिनियाँ सरकारी कर्मचारीलाई आईफोन प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय सार्वजनिक भएसँगै विश्वकै सबैभन्दा धेरै बजार मूल्य भएको कम्पनी एप्पलको सेयरमा लगातार दोस्रो दिन गिरावट देखिएको छ ।

चीन एप्पलको तेस्रो ठुलो बजार हो, गत वर्ष कूल आम्दानीको १८ प्रतिशत हिस्सा चीनले ओगटेको थियो । चीनमा नै फक्सकनबाट एप्पलका धेरै उत्पादनहरू निर्माण गरिन्छन् ।

पछिल्ला दुई दिनमा कम्पनीको बजार मूल्य ६ प्रतिशतभन्दा बढी अर्थात् २ खर्ब डलर (२०० बिलियन डलर) ले घटेको हो ।

२८ खर्ब डलर ( २.८ ट्रिलियन डलर) सहित एप्पल विश्वकै सबैभन्दा धेरै बजार मूल्य भएको कम्पनी हो ।

बुधबार वाल स्ट्रिटमा प्रकाशित रिपोर्टमा बेइजिङले केन्द्रीय सरकारी एजेन्सीका अधिकारीहरूलाई काममा आईफोन प्रयोग नगर्न निर्देशन जारी गरेको उल्लेख गरिएको थियो ।

त्यसको भोलिपल्ट ब्लुम्बर्गले यो प्रतिबन्ध राज्यद्वारा सञ्चालित कम्पनी र एजेन्सीका कर्मचारीमा पनि लागू हुने बताएको थियो ।

१२ सेप्टेम्बरमा आईफोन १५ लञ्च हुनअघि यी रिपोर्टहरू प्रकाशित भएका हुन् । चिनियाँ सरकारले यस विषयमा आधिकारिक प्रतिक्रिया दिएको छैन ।