सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १४ आश्विन २०८० / Sunday, 01 October 2023

शेखर समूहको बैठकमा विश्व–प्रदीप सहभागी नहुने



प्रकाशित समय: मगलवार, १२ : ५५ बजे आश्विन २ गते



शेखर समूहको बैठकमा विश्व–प्रदीप सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बोलाएको छलफलमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल अनुपस्थित हुने भएका छन् । नेता कोइराला समुहको अलग्गै बैठक आज दिउँसो १:३० बजे उनको सम्पर्क कार्यालय बालुवाटारमा बस्दैछ ।

 

कोइरालाको सचिवालयले महामन्त्री शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पहिलो पटक समूहको बैठकमा आमन्त्रण गरेको थियो । महामन्त्री गगन थापासँग जोडिएर काम गर्दै आए पनि इतरसमूहको बैठकमा महामन्त्री शर्मा र नेता पौडेलको औपचारिक प्रवेश भएको छैन ।

 

१४ औँ महाधिवेशनमा नेता प्रकाशमान सिंहको ‘प्यानल’ बाट शर्माले महामन्त्री जित्दा सभापति शेरबहादुर देउवाको प्यानलबाट पौडेल महामन्त्रीमा प्रतिस्पर्धामा उत्रिएका थिए । संसदीय दलको नेतामा सभापति देउवाविरुद्ध उभिएका महामन्त्री थापालाई शर्मा र पौडेल दुवैले साथ दिएका थिए ।

 

महामन्त्री शर्माले इतर पक्षको बैठकमा सहभागी नहुने प्रष्ट पारेका छन् । पौडेल आज मध्यान्ह १२ बजे चीन प्रस्थान गर्दै छन् । यद्यपि भदौ १७ गते नेता अर्जुननरसिंह केसीको निवासमा इतर पक्षका नेताहरूको छलफलमा भने महामन्त्री शर्मा र पौडेल सहभागी भएका थिए ।