काठमाडौँ । १९ वर्ष मुनिको जारी विश्वकपमा नेपालले दोस्रो खेल पाकिस्तान विरुद्ध खेल्दैछ। दक्षिण अफ्रिकामा जारी विश्वकप क्रिकेटको १५औँ संस्करणमा बुधबारको खेल नेपाली समयअनुसार, दिउँसो १ः४५ बजे सुरु हुनेछ।
नेपालले १९ वर्ष मुनिको विश्वकपमा यसअघि पाकिस्तानलाई हराइसकेको छ। सन् २००२ को विश्वकप न्युजिल्यान्डमा आयोजना भएको थियो। त्यही विश्वकपमा नेपाली टोलीले पहिलो पटक टेस्ट राष्ट्र पाकिस्तानलाई हराएको थियो।
जारी प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो। यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोली अर्को टेस्ट राष्ट्र न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो। उक्त खेलमा टस जिती पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय दुई रन बनाएको थियो।
जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ३८ रनमात्र बनाउन सकेको थियो।
विश्वकपमा आठौँ पटक सहभागिता जनाइरहेको नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ। उक्त समूहमा नेपाल, न्युजिल्यान्ड र पाकिस्तानका अतिरिक्त अफगानिस्तान पनि रहेको छ। नेपालले समूहगत चरणमा आफ्नो तेस्रो तथा अन्तिम खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ।
यसपटक प्रतियोगितामा १६ वटा राष्ट्रको सहभागिता छ। प्रतियोगितामा सहभागी १६ टोलीलाई चारवटा समूहमा विभाजन गरिएको छ।
समूहगत चरणको खेलको समाप्तिपछि प्रत्येक समूहको माथिल्लो स्थानमा रहने तीन–तीन टोली प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन्। ‘सुपर सिक्स’ चरणमा पुगेका टोलीलाई पनि दुई समूहमा विभाजन गरिने छ। समूह ‘ए’ र समूह ‘डी’ बाट आएका तीन–तीन टोली एउटा समूहमा रहने छन्।
यसैगरी समूह ‘बी’ र समूह ‘सी’ बाट आएका तीन–तीन टोली भने ‘सुपर सिक्स’ चरणको अर्को समूहमा रहने छन्। ‘सुपर सिक्स’ चरणमा प्रत्येक टोलीले दुई–दुई खेल खेल्नेछन्। समूह ‘ए’ को विजेताका रूपमा ‘सुपर सिक्स’ चरणमा पुगेको टोलीले समूह ‘डी’ को विजेतासँग भने खेल्ने छैन।
समूह ‘ए’ को विजेताले समूह ‘डी’ को उपविजेता र तेस्रो हुने टोलीसँग मात्र खेल्नेछ। समूह ‘डी’ को विजेताले पनि ‘सुपर सिक्स’ चरणमा समूह ‘ए’ को उपविजेता र तेस्रो हुने टोलीसँग मात्र प्रतिस्पर्धा गर्नेछ।
त्यसपछि सेमिफाइनल खेलमा विजयी हुने दुवै टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल फेब्रुअरी ११ तारिखमा खेलिने छ । भारत यू–१९ विश्वकपको साबिक विजेता राष्ट्र हो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ