सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, २ माघ २०८२ / Thursday, 15 January 2026

साउने संक्रान्ति अर्थात् लुतो फाल्ने संक्रान्ति

प्रकाशित समय: बिहिवार, ०९ : ०५ बजे श्रावण २ गते



साउने संक्रान्ति अर्थात् लुतो फाल्ने संक्रान्ति

कमल प्रसाद तिमल्सिना 
माहांकाल-२, ललितपुर

४० बसन्त पार गरिसकेपछि बाल्यकालका ती दिनहरू सम्झँदा आज पनि एक किसिमको आनन्द अनुभूति हुन्छ। करिब ८–१० वर्षको हुँदा, त्यो समय टाउकोमा जुम्रा पर्ने, शरीरमा लुतो आउने, हात–खुट्टामा घाउ–खटिरा देखिने, अनि हिलो पाक्ने समस्याहरू सामान्य नै थिए। ती सबै पीडादायी भए पनि अहिले सम्झिँदा ती नै रमाइला लाग्छन्।
गोटीखेलमा त्यस बेलामा CDHP नामले चिनिने स्वास्थ्य संस्था थियो। 

त्यो संस्थाको  वास्तविक नाम के थियो थाहा छैन तर सिडेच्पी भन्ने चलन थियो हाम्रो लागि भने त्यो ठूलो अस्पताल नै थियो। शरीरमा लुतो, घाउ–खटिरा, हिलो पाक्ने समस्या हुँदा त्यहींबाट सजिलै उपचार पाइन्थ्यो। वर्षैपिच्छे हात–खुट्टामा घाउ पाक्ने समस्या हुँदा पाँच दिनसम्म इन्जेक्सन लगाएको सम्झना अझै ताजा छ।

गाउँघरमा हरेक चाडपर्वको आफ्नै महत्व थियो। तीमध्ये साउने संक्रान्ति वर्षको सुरुवाती चाड मानिन्थ्यो, जुन "लुतो मिल्काउने संक्रान्ति" भनेर चिनिन्थ्यो। यो चाड मनाउनु बाध्यताजस्तै थियो,बालापन को बुद्धि किनकि लुतो मिल्काउने परम्परा यसैसँग गाँसिएको थियो। कहिले सुकेको त कहिले पकुवा लुतो लाग्थ्यो, CDHP बाट उपचार हुन्थ्यो, तर साउने संक्रान्तिमा लुतो मिल्काउनै पर्ने जस्तो लाग्थ्यो। यसकारण, साउने संक्रान्तिको विशेष महत्व र रमाइलोपन मेरो बालमस्तिस्कमा  गहिरो गरी बस्यो।
हाम्रो गाउँमा यो पर्व विशेष रमाइलोका साथ मनाइन्थ्यो। साउन महिनासँगै लोकल आरु, नासपाती अलि अलि खान सुरु हुन्थ्यो पाकी सकेको भने हुदैन थियो। बजारिया फलफूल थिएन, आफ्नै बारीका फल खाने चलन थियो।

लुतो मिल्काउने समूहहरू बनाइन्थे। कसको समूहमा को पर्ने, को नपर्ने भन्ने कुरामा कहिलेकाहीं झगडा नै पर्थ्यो। ठूला दाजु–दिदीहरूको समूह, हामी जस्ता साना बालबालिकाको समूह हुन्थ्यो। खर्का चौर, थुम्का पोखरी, भालुकाटे चौर जस्ता स्थान लुतो मिल्काउने मुख्य स्थल थिए।

जेष्ठ–असार लाग्नासाथ समूह बनाउने, छाप्रा कसरी बनाउने भन्ने छलफल सुरु हुन्थ्यो। छाप्राका लागि खामाबला, पराल, छ्वाली कहाँबाट ल्याउने, कसरी ल्याउने भन्ने योजना बनाइन्थ्यो। बुबाआमाले नदेख्ने गरी खामाबला काट्नु पर्थ्यो। कहिलेकाहीं बाआमाले घाँसको लागि राखेको रुख नै काटिन्थ्यो। धसिग्रे, सरो, पटपटे, कुरिलो जस्ता वनस्पति जंगलबाट खोजेर ल्याइन्थ्यो। समूहमा कसको छाप्रो ठूलो हुने भन्ने प्रतिस्पर्धा नै हुन्थ्यो।
फलफूल पनि सबैको बगैंचामा नहुने भएकाले चोर्नुपर्ने बाध्यता पनि थियो। साँझ परेपछि छ्वाली, पराल पनि अलि–अलि चोरी गरिन्थ्यो।

यति धेरै मेहेनत गरेर बनाएको छाप्रो पनि साउने संक्रान्तिको दिन वर्षा नपरेको त कहिल्यै सम्झना छैन। बिहानैदेखि ढकमक्क कुहिरो र पानी, साँझ झनझन भिजाउने झरी। यद्यपि, मौसमले कति दुःख दिए पनि कार्यक्रम रद्ध हुँदैनथ्यो। छाप्रा बनाइन्थ्यो, पानीको मेसो मिलाएर।

साँझ परेपछि घरघरमा सेलरोटी पकाउने चलन हुन्थ्यो। त्यसैलाई प्रसादको रूपमा बोकेर, थाल ठटाउँदै गाउँ–गाउँ घुमिन्थ्यो – "वारि गाउँले, पारि गाउँले, मेरो लुतो लैजाव" भन्दै लुतो फाल्ने चलन हुन्थ्यो।

आज ती दिन हराएका छन्। न त छाप्रा बनाउने चलन बाँकी छ, न त लुतो मिल्काउने समूहहरू। अहिले बालबालिकालाई त्यो कुरा भन्यो भने त्यो कल्पना जस्तै हुन्छ।

तर साउने संक्रान्तिको सम्झनाले आज पनि बाल्यकालतिर फर्काउँछ। त्यो लुतो फाल्ने संक्रान्ति, त्यो साउने झरी, त्यो चोर्ने बाध्यता, त्यो रमाइलो साथीभाइ — साँच्चै नै मन छुने सम्झना एउटा कथा।