स्पेन : गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पेनको नवौं राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथि तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले लोकतान्त्रिक परिवर्तनले नेपाली समाजमा ल्याएको व्यापक रूपान्तरण, प्रवासमा रहेका नेपालीको महत्व र सामाजिक सञ्जालको चुनौतीबारे विचार व्यक्त गरेका छन्। उनले एनआरएनए स्पेनले सबैसँग समन्वय गर्दै आपसी सहकार्यमा अगाडि बढेकोमा प्रशंसा गर्दै, दोस्रो पटक बार्सिलोना आउन पाउँदा हर्षित भएको बताए।
‘Nepalese’ होइन, अब ‘Nepali’ पहिचानको सम्मान
डा. महतले नेपालीको पहिचानलाई सही ढंगले प्रतिनिधित्व गर्न “Nepalese” को सट्टा “Nepali” लेख्न सुरु गरिएको स्मरण गर्दै भने, “मन्त्रिपरिषद्बाट मैले नै त्यो निर्णय गराएको थिएँ, र आज प्रवासमा पनि यो प्रयोग देख्दा गर्व महसुस गर्छु।”
परिवर्तनपछि बढ्यो आकांक्षा, खुल्यो अवसरको ढोका
लोकतन्त्र स्थापनापछि नेपाली समाजमा ठूलो परिवर्तन आएको उल्लेख गर्दै उनले भने, “पहिले भाग्य मान्ने र चुप लाग्ने नेपाली, आज अधिकार खोज्न सिकेका छन्। लोकतन्त्रले नागरिकमा आत्मविश्वास भरेको छ।”
आफ्नै अनुभव सुनाउँदै उनले भने – ‘’फुलब्राइट छात्रवृत्तिमा छनोट भए पनि २०४५ सालमा पासपोर्ट नपाएको र २०४६ सालको जनआन्दोलन सफल भएपछि मात्रै विदेश जान पाएको थिए।‘’

देशभित्र अवसर नहुँदा विदेशी भूमिमा भिजेको पसिना
नेपालबाट जनशक्ति पलायन हुनुको मूल कारण देशभित्र पर्याप्त अवसर नहुनु भएको उनको ठहर छ। उनले विदेश पलायनका सकारात्मक पक्ष — जस्तै शिक्षा, अनुभव, पुँजी — र चुनौती — देशभित्र म्यानपावर अभाव — दुबैलाई औंल्याउँदै भने, “विदेशी भूमिमा पुगेर नेपालीले कमाएको अनुभव र पुँजी अब देश विकासमा फर्काउनुपर्छ।”
दक्षिण कोरियालीहरुको उदाहरण दिँदै उनले भने, “हामी पनि नेपाल फर्किनु पर्छ। हाम्रो मन नेपालमै छ, मौका मिल्यो भने धेरै नेपाली पुनः आफ्नै भूमिमा फर्कनेछन्।”
सामाजिक सञ्जाल: अवसर पनि, चुनौती पनि
सामाजिक सञ्जालमार्फत नागरिक सशक्त बनेको उल्लेख गर्दै उनले भने, “अब व्यक्तिले बिना टिभी, रेडियो आफैं बोल्न सक्छ। तर, झुटो कुरा बारम्बार दोहोर्याउँदा त्यो नै सत्य ठानिन्छ — यहीं खतरा छ।”
बीपी कोइरालाको भनाई उद्धृत गर्दै उनले भने, “जब सत्यको मुख बन्द हुन्छ, झुटोको थुतुनो चल्छ।” उनले सत्य बुझेकाहरु चुप लाग्नु देशका लागि खतरा हुने चेतावनी दिए।
प्रगति धीमा भए पनि बाटो ठीकतर्फ
नेपालको विकास ढिलो सुरु भएको ऐतिहासिक पृष्ठभूमि प्रस्तुत गर्दै उनले भने, “७५ वर्षअघि नेपालमा बाटो थिएन, साक्षरता २ प्रतिशत भन्दा कम थियो। आज लगभग हरेक बच्चा स्कुल जान्छन्।”
नेपालीको औसत आयु ५४ वर्षबाट ७३ वर्षमा पुगेको तथ्य प्रस्तुत गर्दै उनले थपे, “राजनीति सिधा रेखामा नचले पनि नेपाल गलत बाटोमा गएको छैन। गति अपेक्षितभन्दा ढिलो भए पनि दिशा भने सही छ।”
दलगत स्वार्थभन्दा माथि उठेर देशका लागि काम गर्न आह्वान
उनले नेपालको समृद्धिको यात्रालाई तीव्र बनाउन राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राख्न राजनीतिक दलहरुलाई आह्वान गरे। “अहिलेको आवश्यकता स्वार्थ होइन, साझा सपना हो । देश बनाउनका लागि अब सबैको एकताबद्ध प्रयास अपरिहार्य छ।”
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ