सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, १ फाल्गुन २०८२ / Friday, 13 February 2026

प्युटारमा दोस्रो वडाध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रकाशित समय: आइतवार, ०८ : १० बजे पुष १३ गते



प्युटारमा दोस्रो वडाध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

ललितपुर,बागमती गाउँपालिका वडा नम्बर ४, प्युटारमा आयोजित दोस्रो वडाध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

 

ब्याडमिन्टन संघ प्युटारको आयोजनामा तथा बागमती गाउँपालिका वडा नम्बर ४ प्युटारको आर्थिक सहयोगमा आयोजित खुल्ला ब्याडमिन्टन प्रतियोगिता पौष १० गतेदेखि १२ गतेसम्म सञ्चालन गरिएको थियो। श्री कालिदेवी माध्यमिक विद्यालय, प्युटारको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा बागमती गाउँपालिका र बकैया गाउँपालिकाका गरी जम्मा २० टिमको सहभागिता रहेको थियो।

 

समापन समारोहका प्रमुख अतिथि बागमती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले स्थानीय तहबाट उत्पादन भएका खेलाडीहरूले विभिन्न खेलमार्फत आफ्नो क्षेत्रको पहिचान स्थापित गर्न सक्ने बताउनुभयो। क्रिकेटमार्फत नेपाली खेलाडीहरूले विश्वमा नाम चिनाएजस्तै ब्याडमिन्टनमार्फत पनि यस क्षेत्रका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाउन सक्ने सम्भावना रहेको उहाँको भनाइ थियो। खेलकुद क्षेत्रलाई अपेक्षित रूपमा अघि बढाउन नसकेको स्वीकार गर्दै उहाँले आगामी दिनमा अझ व्यवस्थित योजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 

कार्यक्रम वडा नम्बर ४ प्युटारका वडाध्यक्ष रामकुमार लामाको अध्यक्षतामा सम्पन्न भएको थियो। मन्तव्यका क्रममा वडाध्यक्ष लामाले खेलकुद युवाहरूलाई सकारात्मक दिशातर्फ अग्रसर गराउने प्रभावकारी माध्यम भएको उल्लेख गर्नुभयो। यस्ता प्रतियोगिताले लागूऔषध दुर्व्यसन तथा नकारात्मक गतिविधिबाट युवाहरूलाई टाढा राख्न सहयोग पुग्ने उहाँको भनाइ थियो। वडाभित्र खेलकुद गतिविधिलाई पहिलो प्राथमिकतामा राखिएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो। साथै ‘जित्नेभन्दा सिक्ने, हार्नेभन्दा अभ्यास गर्ने’ सोचलाई आत्मसात गर्दै सबै खेललाई योजनाबद्ध रूपमा अघि बढाउन बजेट व्यवस्थापन गरिने जानकारी दिनुभयो। वडामा ब्याडमिन्टनको कभर्ड हल निर्माणका लागि योजना तयार गर्न ब्याडमिन्टन संघ प्युटारलाई उहाँले आग्रह गर्नुभयो।

 

कार्यक्रममा वडा सदस्य, जनप्रतिनिधि, बुद्धिजीवी, युवाहरू, श्री कालिदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक ठाकुर लामा तथा विभिन्न खेल संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

 

ब्याडमिन्टन संघ प्युटारका संयोजक दीपक लामाले दक्षिण ललितपुरमा वडास्तरबाट दोस्रोपटक प्रतियोगिता आयोजना गर्न सहयोग गरेकोमा वडा कार्यालयलाई धन्यवाद व्यक्त गर्नुभयो। गाउँ–गाउँमै खेलकुद सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश यस प्रतियोगिताले दिएको उहाँको भनाइ थियो। सबैको साथ, सहयोग र हौसलाले गाउँमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो। स्थानीय तहमा खेलकुदको महत्त्व उजागर गर्दै युवाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उहाँले जानकारी दिनुभयो।

 

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. २०,०००, द्वितीय हुने टिमले रु. १०,०००, तृतीय हुने टिमले रु. ५,००० तथा सान्त्वना पुरस्कारस्वरूप रु. २,५०० प्राप्त गरेका छन्। साथै उत्कृष्ट खेलाडी र अनुशासित टिमलाई नगद, मेडल तथा प्रमाणपत्रसहित विशेष सम्मान गरिएको थियो। प्रतियोगिता लिग तथा नकआउट प्रणालीअनुसार सञ्चालन गरिएको थियो।

प्रतियोगितामा बागमती गाउँपालिकाका दीपंकर तामाङ र मिलन लामा प्रथम, किसन लामा र एनसेल लामा द्वितीय, कल्याण लामा र कपिल कुँवर तृतीय तथा बकैया–१० मन्थलीका सहदेव लामिछाने र लेखबहादुर लामिछाने सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए। विजेता टिमहरूलाई प्रमुख अतिथिबाट शिल्ड, कप र प्रमाणपत्र वितरण गरिएको थियो।

 

यस प्रतियोगितामा प्युटारकै सबैभन्दा कम उमेरका खेलाडी एनसेल लामाले दोस्रोपटक सहभागिता जनाउँदै आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। साथै प्युटारमा ब्याडमिन्टन खेलको स्थापना तथा पालिका स्तरीय रेफ्रीको भूमिकामा महत्वपूर्ण योगदान पुर्‍याएका सुबि कुमार महतो र ज्ञानु कुमारी घिमिरेको योगदान उल्लेखनीय रहेको आयोजकले जनाएको छ।

 

खुला आकाशमुनि आयोजना गरिएको प्रतियोगिता सञ्चालनमा केही चुनौती रहे पनि गाउँ–गाउँमा पनि ब्याडमिन्टन खेल सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरण प्युटार बनेको आयोजकहरूको भनाइ छ। 

 

कार्यक्रम सञ्चालन ब्याडमिन्टन संघ प्युटारका संयोजक दीपक लामाले गर्नुभएको थियो भने वडा सचिव सरिता तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो। समापन समारोहमा अतिथिहरूलाई खादाद्वारा सम्मान गरिएको थियो।