सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

ललितपुर क्षेत्र नम्बर १ मा उदयशमशेर राणाको पक्षमा बढ्दो माहोल

प्रकाशित समय: शुक्रवार, १२ : ३१ बजे फाल्गुन १ गते



ललितपुर क्षेत्र नम्बर १ मा उदयशमशेर राणाको पक्षमा बढ्दो माहोल

ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य उदयशमशेर राणाको पक्षमा चुनावी माहोल दिनानुदिन बलियो बन्दै गएको छ। तीन वटा गाउँपालिका र गोदावरी नगरपालिकाका १२ वडा सहित ३० वडा समेटिएको यस क्षेत्रमा कांग्रेस संगठन सक्रिय रूपमा परिचालित भएको देखिन्छ।

 

निर्वाचन परिचालन कमाण्डर तथा क्षेत्रीय सभापति सुन्दरमान थिङका अनुसार यस क्षेत्रमा कांग्रेसको संगठनात्मक अवस्था सुदृढ र बलियो छ। गोदावरी नगरपालिकामा नगर प्रमुख र उपप्रमुख, बागमती गाउँपालिकामा अध्यक्ष, कोन्ज्योसोम गाउँपालिकामा उपाध्यक्ष तथा महाङ्काल गाउँपालिकामा अध्यक्षसहित २२ वटा वडामा कांग्रेस विजयी भएको तथ्यांकले पनि संगठनको आधार मजबुत रहेको देखाउँछ।

 

काङ्ग्रेसका एक नेताका अनुसार अघिल्ला निर्वाचनहरूमा टिकट वितरणको विषयलाई लिएर पार्टीभित्र केही तिक्तता र विवाद देखिए पनि यसपटक सबै नेता–कार्यकर्ता एकताबद्ध भएर राणाको पक्षमा उभिएका छन्। टिकट आकांक्षी रहेका केन्द्रीय सदस्य मथुरा प्रसाद घिमिरे, पूर्व आमन्त्रित केन्द्रीय सदस्य कवेलबहादुर लामा, बागमती प्रदेशका सह–महामन्त्री ऋषिराम घिमिरे, प्रदेश सभा सदस्य मिनकृष्ण महर्जन, पूर्व जिल्ला सचिव रविन्स् शर्मा, महासमिति सदस्य खोमप्रसाद घिमिरे, महासमिति सदस्य बिमलचन्द्र बिष्ट लगायतका नेताहरू राणासँगै घरदैलो, छलफल र भेटघाट कार्यक्रममा सक्रिय रूपमा सहभागी भइरहेका छन्।

 

राणा २०७० सालको संविधानसभा निर्वाचनमा विजयी भई संविधान निर्माण प्रक्रियामा सक्रिय भूमिका निर्वाह गरेका नेता हुन्। स्थानीय तहमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत विकास निर्माणका काममा पहल गरेको भन्दै समर्थकहरूले उनको अनुभव र योगदानलाई मुख्य चुनावी एजेन्डाका रूपमा अघि सारेका छन्।

 

पछिल्लो समय पार्टी रुपान्तरणको मुद्दालाई अघि सार्दै उनी शेरबहादुर देउवा नेतृत्वको समूहबाट अलग भई गगन थापासँग सहकार्य गर्दै सहमहामन्त्री बनेपछि उनको चर्चा थप चुलिएको छ।

राणालाई चुनाव जित्दा वा हार्दा पनि निरन्तर आफ्नो क्षेत्रका जनताको घरदैलोमा पुगिरहने नेताका रूपमा चित्रित गरिएको छ। भूकम्प, बाढी, पहिरो तथा कोरोना महामारीजस्ता विपद्का समयमा जनताको पक्षमा आवाज उठाउँदै संसदमार्फत सरकारलाई दबाब दिने काम गरेको यस क्षेत्रका कांग्रेस कार्यकर्ताहरूको दाबी छ। भ्रष्टाचार वा अन्य विवादमा नाम नजोडिएको स्वच्छ छविका नेताका रूपमा पनि उनलाई प्रस्तुत गरिएको छ।

 

ललितपुर–१ मा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिस्ट पार्टी, राप्रपा नेपाललगायत अन्य दलका उम्मेदवारहरू प्रतिस्पर्धामा रहेकाले चुनावी भिडन्त रोचक हुने देखिन्छ। यद्यपि कांग्रेस नेताहरूले मजबुत संगठन, आन्तरिक एकता र उम्मेदवारको सकारात्मक छविका आधारमा परिणाम आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरेका छन्।

 

चुनाव नजिकिँदै जाँदा राणाले घरदैलो, टोलसभा, मतदातासँग छलफल तथा सुझाव संकलन कार्यक्रमलाई तीव्र पारेका छन्। ती कार्यक्रमहरूमा एमाले, राप्रपा लगायत विभिन्न दलका तीन दर्जन प्रभावशाली नेता–कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरिसकेका छन्।

 

राणाको पक्षमा बढ्दो जनसमर्थनसँगै ललितपुर क्षेत्र नम्बर १ मा उनको पक्षमा चुनावी माहोल बढ्दै गएको छ।