सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, २ जेठ २०७८ / Sunday, 16 May 2021

निषेधाज्ञा थप कडाइ गर्ने, एक चौथाइ कर्मचारीले कार्यालय सञ्चालन गर्नुपर्ने



प्रकाशित समय: शनिवार, १० : ०० बजे बैशाख १८ गते



निषेधाज्ञा थप कडाइ गर्ने, एक चौथाइ कर्मचारीले कार्यालय सञ्चालन गर्नुपर्ने

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)ले निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ ।

 

शुक्रबार सिंहदरबारमा बसेको बैठकले भारततर्फ खुलेका ३५ मध्ये १३ वटा नाका मात्रै सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बाँकी २२ वटा नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

 

यस्तै बैठकले निषेधाज्ञा लागु भएका जिल्लाहरुमा एक चौथाइ कर्मचारीहरू राखेर कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । यो निर्णय सँगै सरकारी कार्यालय र बैक वित्तिय संस्थाका थोरै कार्यालय मात्र खुल्नेछन् ।

 

सरकारले क्वारेन्टाइनसहित खुला राखेका नाकाहरू काँकडभिट्टा, जोगमनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, वेलहिया, कृष्णनगर, जमुनाहा, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी रहेका छन् ।

 

यस्तै बैठकले संघीय मन्त्रीलाई प्रदेश समन्वय गर्नेगरी खटाउन मन्त्रिपरिषद्लाई सिफारिस पनि गरेको छ । यसका साथै बैठकले सार्वजनिक निर्माणका सम्पूर्ण काम बन्द गर्ने निर्णय पनि गरेको छ । यदि निर्माण कार्य सुचारु गर्ने भए कामदार कर्मचारीहरूलाई निमार्ण स्थलमा नै राख्नुपर्नेछ ।

 

उद्योगहरु सञ्चालन गर्ने भए मजदुर, कर्मचारीलाई उद्योग परिसरभित्र नै रहनेगरी सञ्चालन गर्न निर्देशन पनि दिएको छ । बैठकले निजी अस्पतालहरूलाई कोभिड अस्पतालको रूपमा प्रयोग गर्न तयारी थाल्ने निर्णय पनि गरेको छ ।

 

विदेशबाट नेपाल आएका विदेशीले क्वारेन्टाइन बस्न अनिवार्य गर्ने र नमाने डिपोट गर्ने पनि निर्णय गरेको छ । क्वारेन्टाइनको रुपमा रहेका होटलहरूलाई थप व्यवस्थित गरिने छ ।