सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १२ बैशाख २०७६ / Thursday, 25 April 2019

सुनवल नगरपालिकाले सुरु गर्यो ज्येष्ठ नागरिक स्वास्थ्य बीमा

..
प्रकाशित समय: सोमवार, ०६ : ३९ बजे बैशाख २ गते



सुनवल नगरपालिकाले सुरु गर्यो ज्येष्ठ नागरिक स्वास्थ्य बीमा

नवलपरासी- पश्चिम नवलपरासी सुनवल नगरपालिकाले नगरभित्रका सबै जेष्ठ नागरिकलाई उपलब्ध गराएको स्वास्थ्य उपचार बीमा कार्यक्रम प्रभावकारी भएको छ ।

 

एक वर्षको अवधिमा तोकिएका स्वास्थ्य संस्थाबाट एक ज्येष्ठ नगारिकले वार्षिक रू ५० हजार बराबरको निःशुल्क स्वास्थ्य उपचार सेवा पाउन सक्ने गरी गरिएको सो कार्यक्रम प्रभावकारी भएको नगरपालिकाको जिकिर छ ।

 

देवदह मेडिकल कलेज र सुनवल नगरपालिकाबीच ७५ प्रतिशत रकम नगरपालिका र २५ प्रतिशत रकम उक्त कलेजले दिने गरी सम्झौता भएको थियो । पहिलो चरणमा एक वर्षका लागि लागू गरिएको कार्यक्रमबाट करीब चार सय ज्येष्ठ नागरिकले सेवा लिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणि नेपालले बताउनुभयो ।

 

नगरपालिकाका अनुसार गतवर्ष दुई हजार ८५८ ज्येष्ठ नागरिकको बीमा गरिएकामा ४०० ले बीमा अनुसारको सेवा लिएका थिए । बीमा गरेका व्यक्तिले एक वर्षभित्र सो मूल्य बराबरको औषधि उपचार, ल्याब, औषधिलगायत सेवा निःशुल्क प्राप्त गरेका थिए ।

 

साठी वर्षमाथिका दलित र ७० वर्ष माथिका सबै वर्गका समुदायमा सो अभियान ल्याइएकामा नगरपालिकाले रु ३६ लाख ९५ हजार र करीब रु १३ लाख उक्त कलेजले व्यहोरेको थियो ।

 

यसैबीच नगरपालिकाले अहिले पनि प्रत्येक चार महीनामा ज्येष्ठ नगारिकको नियमित स्वास्थ्य परीक्षण गर्दै आइरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नेपालले बताउनुभयो ।