सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, ३१ आश्विन २०७८ / Sunday, 17 October 2021

साथीका प्रेमपत्र लेख्दै साहित्यकार बन्नुभएका मालिका केशरी    



प्रकाशित समय: शनिवार, १० : ०१ बजे श्रावण २३ गते



साथीका प्रेमपत्र लेख्दै साहित्यकार बन्नुभएका मालिका केशरी    

–पूर्णप्रसाद मिश्र  -


काठमाडौँ । तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं –८ स्थित गणपतिमा रहेको गाउँ फर्कोदय माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्दा प्रकाशकुमार श्रेष्ठलाई साथीभाइले प्रेमपत्र लेख्न लगाउँथे ।     
     
माया, प्रेमका कुरा गर्ने श्रेष्ठले धेरैको प्रेमपत्र लेख्न थाल्नुभयो । विद्यालय तहमै पढ्दा सयौँ साथीका प्रेमपत्र लेख्नुभएका श्रेष्ठले आफ्नो जीवनमा एउटा प्रेमपत्र लेख्नुभयो । प्रतिउत्तर पत्र सकारात्मक आएन । विद्यालय जीवनमै लेखिएको उहाँको प्रेमपत्र सफल भएन । सयौँ साथीका लागि लेखिएको प्रेमपत्रमध्ये दर्जनौँ साथीको प्रेमजीवन सफल भएको छ । ती जोडी अहिले पनि सफल दाम्पत्य जीवनमा रमाइरहेका छन् । विद्यालय जीवनमा अरुका लागि लेखिएको प्रेमपत्रले श्रेष्ठलाई साहित्यको जग बसाउन भने राम्रो काम गरेको छ । प्रेमपत्र लेखनको अभ्यासले उहाँलाई तीन उपन्यास लेख्न सहयोग गरेको छ । तीनै वटा उपन्यास पनि प्रेमकै विषयमा लेखिएका छन् ।     
     
विद्यालय जीवनमा लेखिएको प्रेमपत्रले लेखनमा रुचि जाग्दै जान थालेपछि उहाँले विसं २०५८ मा कविता सङ्ग्रह ‘मिरमिरे’ निकाल्नुभयो । त्यसो त उहाँ कक्षा ५ मा पढ्दा विद्यालयले आयोजना गरेको कविता प्रतियोगितामा आमा देवीकुमारी श्रेष्ठले लेख्नुभएको कविता वाचन गरेर पहिलो स्थान हासिल गर्न सफल हुनुभएको थियो । सानैदेखि कविता, कथाजस्ता विधामा रुचि राख्नुहुने उहाँलाई युवा अवस्थामा उपन्यास लेख्न सहकर्मीले प्रेरणापुञ्जका रुपमा काम गरे । तिनै साथीको जीवनको वास्तविक घटनामा आधारित रहेर उहाँले पहिलो उपन्यास ‘पुनरुत्थान’ तयार पार्नुभयो ।     
     
विद्यालय जीवनपछि उच्च शिक्षा हासिल गर्नमै व्यस्त रहनुभएका श्रेष्ठ साहित्यतिर त्यति सक्रिय हुन पाउनुभएन । पढाइसकेर पेशामा सक्रिय भएकै बेला साथी होम बेल्वासेले पटकपटक आफ्नो असफल प्रेम जीवनका बारेमा सुनाउन थाल्नुभयो । साथीभाइको समूहमा धेरैपटक जिस्क्याएर बेल्वासेका कुरालाई टार्नुभएका श्रेष्ठलाई एकदिन आफ्ना साथीले प्रेममा पाएको असफलताकै कारण रोएको देखेपछि भने त्यसैलाई विषय बनाएर उपन्यास लेख्ने सोच पलायो । साथीको विषयवस्तु समेटेर उपन्यास लेख्छु भनी अनुमति लिनुभयो । साथीले पनि तत्कालै स्वीकृति दिए । अनि शुरु भयो श्रेष्ठको उपन्यास लेखन यात्रा ।     
     
बेल्वासेकै प्रेम जीवनको वास्तविक घटनालाई विषय वस्तु बनाएर लेखेको उपन्यास ‘पुरुत्थान’ २०७२ भदौमा प्रकाशित भयो । उपन्यास प्रकाशन गर्न बेल्वासेले नै प्रकाशन संस्था खोल्नुभयो । बेल्वासेकै प्रकाशन सस्था परिस्कृत मिडिया ग्रुपबाट ‘पुरुत्थान’ को पहिलो सस्करण प्रकाशन भयो । पहिलो संस्करणमा दुई हजारप्रति छापिएको ‘पुरुत्थान’ बजारमा सकियो । विसं २०५२ देखि २०६३ का बीचको राजनीतिक घटनाक्रमका बेलाको अन्तरजातीय प्रेमकथामा आधारित भएर लेखिएको ‘पुरुत्थान’ पाठकले मन पराए ।     
     
वेदलाई चार भागमा विभाजन गर्ने ऐतिहासिक एव पौराणिक पात्र कृष्ण द्वैपायनअर्थात् वेदव्यासको भूमि तनहुँमा जन्मनुभएका श्रेष्ठलाई प्रारब्धले साहित्यमा आकर्षित गरेको थियो । त्यही प्रारब्धले उहाँलाई विद्यार्थीकालमै साथीभाइको प्रेमपत्र लेखायो । प्रेमपत्र लेखेको अनुभवका आधारमा व्यावसायिक जीवनका साथी बेल्वासेको जीवनकथालाई उपन्यासमा उतार्नुभयो । त्यो उपन्यास सार्वजनिक भएको केही महिनामै बजारमा सकियो ।     
     
परिचित प्रकाशन गृह साङ्ग्रिलाले ‘पुरुत्थान’ लाई पुन : प्रकाशन गर्ने प्रस्ताव अघि सार्‍यो । साङ्ग्रिलाले दोस्रो सस्करणमा छापेको तीन हजारप्रति पनि बजारमा सकिएको छ । ‘पुरुत्थान’ छाप्ने बेलामै ‘मालिकाकेशरी’ को उपनामले साहित्य सिर्जना गर्नुहुने श्रेष्ठले साङ्ग्रिलालाई भनिदिनुभयो–‘मेरो दोस्रो उपन्यास पनि तयार छ’ वास्तविकतामा उपन्यास लेखिएकै थिएन ।     
     
पहिलो उपन्यासमा साथी होम बेल्वासे र आफ्नै जीवनका पनि केही जीवन भोगाइलाई विषयवस्तु बनाएर लेखिएको उपन्यास ‘पुरुत्थान’ सफल भएपछि मालिका केशरीको दिमागमा अर्को उपन्यासको कथा तयार भइसकेको थियो । देशले व्यहोरेको दशवर्षे विद्रोहमा आमजनताले भोगेका त्रासपूर्ण जीवनलाई ‘पुरुत्थान’ मार्फत सार्वजनिक गर्नुभएका केशरीलाई यस्तै अर्को अनुभूति पनि पुस्तकाकारमा ल्याउने चाहना पलाएको थियो ।     
     
युद्धमा सशस्त्र विद्रोही र सरकार दुवैको निशाना जनता बनेका, गणतन्त्र स्थापना र त्यसपछि विकसित घटनाक्रमसँगै सदियौँदेखिको जातीय विभेदबीचमा मौलाएको अमर प्रेमकथाका रुपमा ‘पुरुत्थान’ रचना भएको थियो । पहिलो उपन्यासको मस्यौदा १२ दिनमा गर्नुभएका केशरीले सम्पादनलगायत अन्तिम रुप दिन करिब एक महिना समय खर्चनुभयो । दोस्रो उपन्यास ‘सुवर्णलता’ का लागि भने उहाँले सात महिना समय दिनुप¥यो ।     
     
‘सुवर्णलता’ मा आमाबाबुबाट छुटिनुपर्दाका पीडा, विशेषगरी आमाबाबु लाहुर गएका छोराछोरीको अवस्थालाई उपन्यासकार श्रेष्ठले पाठकसमक्ष पस्कनुभएको छ । उपन्यासमा खोजी पत्रकारिताको प्रसङ्ग पनि छ । डोल्पाको कुनै गाउँमा सडक खन्दा भेटिएको गुफाका विषयमा खोजी पत्रकारिता गरिएको विषय पनि उपन्यासमा देखाइएको छ । गुफामा सयौँ वर्षदेखि ध्यानावस्थामा रहेकी युवतीको कथाले पाठकलाई रोमाञ्चकता प्रदान गर्छ ।     
     
उपन्यासमा मुक्तिमार्गका कुरा, प्रेम दुःखको कारण भएको, मानिस मोहमा बाँधिनुहुन्न भन्नेजस्ता विषय पनि छन् । पाठकलाई प्रेमसँग बौद्ध दर्शन र शान्तिका कुराका माध्यमबाट पढुँपढुँ लाग्ने गरी उत्सुक बनाउन उपन्यासकार केशरी सफल देखिनुभएको छ । उहाँको तेस्रो उपन्यास ‘दुङाल’ प्रकाशोन्मुख छ । भदौ ५ गते उपन्यास सार्वजनिक गर्ने तिथि तय भएको छ ।     
     
नेपालमा शरणार्थी जीवन भोग्न बाध्य तिब्बतीयन युवती कारचुङका माध्यमबाट उहाँले त्यस जीवनका बारेमा पाठकलाई जानकारी दिन लागेको बताउनुहन्छ । ‘दुङाल’ तिब्बतीयन शब्द हो । जसको अर्थ दुःख भन्ने हुन्छ । उपन्यासमा शरणार्थीका कथाव्यथालाई शब्दका माध्यमबाट उनिएको छ । खम्पा विद्रोहका सन्दर्भलाई पनि उपन्यासमा समेटिएको छ । हिमालयन बौद्ध दर्शन अध्यापनमा लाग्नुभएका डा रमेश ढुङ्गेलको प्रेरणाले उहाँलाई यो उपन्यास लेखन उत्साहित बनाएको हो । रासस