काठमाडौं, २३ असोज । एभरेष्ट प्रिमियर लिग क्रिकेटको उपाधि चितवन टाइगर्सले उचालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवनले उपाधि उचालेको हो । चितवनले उपाधिसँगै नगद ५० लाख पुरस्कार प्राप्त गर्दा उप विजेता भएको पोखराले १५ लाखमा चित्त बुझायो ।
फाइनलमा पाेखरा राइनाेजलाई ४ विकेटले पराजित गर्दै चितवन पहिलाे पटक च्याम्पियन बनेकाे हाे । पाेखराले दिएकाे ११२ रनकाे लक्ष्य चितवनले १५.५ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गर्यो । चितवनका लागि भिम सार्कीले ४५ बल खेल्दै ७ चाैका र २ छक्काको मद्दतमा ६३ रन बनाए ।
यस्तै दिलिप नाथले १८, राजेश पुलामीले १४ र माेहम्मद शाहाजादले ११ रन जाेडे । कप्तान साेमपाल कामीले आफ्नाे पहिलाे बलमै चाैका प्रहार गर्दै चितवनलाई जित दिलाए । बलिङमा पाेखराका किशाेर महताेले ४ विकेट लिए । नन्दन यादवले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे पाेखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १११ रनमा अलआउट भएकाे थियाे ।
पाेखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए । रिचर्ड लेभीले २६ र कप्तान विनाेद भण्डारीले २२ रन बनाए । विपिन रावलले १७ रन जाेडे । बाँकी खेलाडीले दाेहाेराे अंकमा रन बनाउन सकेनन् ।
चितवनका लागि बलिङमा कमल सिंह ऐरीले ३.५ ओभरमा २० रन खर्चिएर ४ विकेट लिए । यस्तै करिम जन्नत र सेकुगे प्रसन्नले २-२ विकेट लिए । दुवैले ३ ओभर बलिङ गर्दा प्रसन्नले १३ र करिमले १५ रन खर्चे । कप्तान साेमपाल कामी र सागर ढकालले समान १ विकेट लिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ