काठमाडौँ — ललितपुरको भित्री वस्ती गोदामचौरमा तीन महिनाअघि भएको बलात्कार तथा ज्यान मार्ने उद्योगका मुख्य तीन अभियुक्तलाई तत्काल पुर्पक्ष थुनामा राख्ने अदालती फैसला आएको एक सातापछि मात्रै उनीहरु ‘फरार रहेको’ प्रहरीले थाहा पाएको छ ।
गत विहिबार पाटन उच्च अदालतले दिएको पुरावेदन फैसलाको औपचारिक पत्र जिल्ला प्रहरी कार्यालयले सोमबार मात्रै पाएको र तत्काल आरोपीको ‘लोकेसन’मा खोजी गर्दा उनीहरु फरार भैसकेको प्रहरीले जनाएको छ ।
‘यो स्थितीबारे हामीले केन्द्रिय प्रहरी परिसर र अपराध महाशाखालाई पनि अवगत गराएका छौं,’महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी विनोद सिलवालले कान्तिपुरसँग भने—‘फरार आरोपीको ‘लोकेसन ट्रेस’ गर्ने काम थालिएको छ ।’ अदालती फैसला आउनासाथ आफूले मौखिक रुपमा स्थानीय बाँडेगाउँस्थित प्रहरी प्रभागमा आरोपीको थातथलो निगरानी गर्न निर्देशन दिएको बताउँदै सिलवालले ‘आरोपी खोजबिनमा तदारुकता अपाइने’ बताए ।
करणी तथा ज्यान मार्ने उद्योगमा किटानी जाहेरीमा परेका तीन आरोपीलाई साधारण तारिखमा छाड्ने जिल्ला अदालतको फैसलालाई बदर गर्दै गत बिहिबार पाटनको उच्च अदालतले ‘प्राप्त प्रारम्भिक प्रमाणका आधारमा आरोपीलाई पुर्पक्षका लागि तत्काल थुनामा राख्ने’ फैसला गरेको थियो ।
पुनरावेदनमा जानुअघि, ललितपुर भित्री वस्तीकी २१ बर्षिया युवतीलाई करणी तथा ज्यान मार्ने उद्योगमा किटानी जाहेरीका आधारमा ललितपुर गोदामचौरका रघु सिलवाल(३२), विशालध्वज कार्की(२०) र पवन कुवर(२०)लाई थुनामा राखिएपनि जिल्ला अदालतले ‘किटानीमा दरो प्रमाण नभएको’ भन्दै थुनामुक्त गरिदिएको थियो ।
हातखुट्टा भाँचिएको र टाउको समेत फुटेको अवस्थामा गत मंसीर ३ गतेको बिहान खेतबारीमा भेटिएकी युवतीको अस्पतालमा ७ दिनपछि मात्रै होस आएको थियो । होस फिरेपछि लिइएको बयान र किटानी जाहेरी आधारमा आरोपी पक्राउ गरिएको थियो ।
पीडित युवतीको शरीरमा पाइएको वीर्य, रौं, रगतसहितको १६ वटा ‘यथेष्ट प्रमाण’को विधी विज्ञान परीक्षण नआइकन जिल्ला अदालतले आरोपीलाई रिहा गरिदिएको फैसला आफैंमा ‘सन्देहास्पद’ बनेको थियो । प्रहरीको विधी विज्ञान प्रयोगशालाले प्राप्त प्रमाणहरुको परीक्षण गर्न अझै केही समय लाग्ने जनाएको छ ।
पीडित युवती अहिले पनि पिसाब र रगतमा देखिएको संक्रमणका कारण अस्पतालमा उपचाररत छिन् ।
पीडित युवतीका पक्षमा बहसपैरवी गर्दै आएका स्वतन्त्र कानूनकर्मीले कान्तिपुरसँग कुरा गर्दै ‘न्यायिक फैसलालाई कदर गर्ने र पीडितलाई न्याय दिलाउने कुरामा प्रहरी–प्रशासनको सहयोग शून्य रहेकाले अभियुक्तहरु फरार भएको’ प्रतिक्रिया दिएका छन् ।
स्रोत-ईकान्तिपुर डट कमबाट
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ