सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

शुरु भयो विहावर पर्यटन महोत्सव,प्याराग्लाडिङ,म्याराथुन, साइक्लिङ मुख्य आर्कषण

प्रकाशित समय: आइतवार, १० : १२ बजे बैशाख १६ गते



शुरु भयो विहावर पर्यटन महोत्सव,प्याराग्लाडिङ,म्याराथुन, साइक्लिङ मुख्य आर्कषण

नवराज सापकोटा कुशादेवी । पनौती नगरपालिकाको कुशादेवी क्षेत्रको पर्यटन विकासको योजना अनुरुप विहावर पर्यटन महोत्सवको शुरु भएको छ । कुशादेवी सरोकार समाजको आयोजनामा शनिवार उद्घाटन भएको महोत्सव ३ दिन सम्म संचालन हुने छ । यस अघि नै सफल परीक्षण गरिएको प्याराग्लाडिङको समेत महोत्वमा अनुभव लिन सकिने छ ।

 

पर्यटन मन्त्री रविन्द्र अधिकारी, संचार राज्यमन्त्रि गोकुल बास्कोटाले उद्घाटन गर्ने भनिएको महोत्सवमा मौसम प्रतिकुलताका कारण मन्त्रीहरु तथा आयोजक विहावर सरोकार समाजका अध्यक्ष क्याप्टेन रामेश्वर थापा समेत उपस्थित हुन सकेनन् । हेलिकप्टरमा आउने भनेका आयोजक अध्यक्ष तथा मन्त्रीहरु मौसम खराबीका कारण उपस्थिति हुन नसकेको हुन् । मन्त्रीहरु उपस्थित हुन नसकेपछि महोत्सवको उद्घाटन सांसद गंगाबहादुर दोङले गरेका थिए ।

 

त्यस अवसरमा प्रदेश सांसद माधवप्रसाद पौडेल, जिल्ला समन्वय समितिका संयोजक उद्धव केसी लगायतले महोत्सवले यस क्षेत्रको पर्यटनको अवस्थाका विषयमा चर्चा गरेका थिए । महोत्सव उद्घाटन कार्यक्रममा पनौतीबाट गोरखनाथ युवाक्लबको संयोजकत्वमा २ सय ५० जना हाइकिंङमा सहभागी भएका थिए ।

 

महोत्सवमा स्थानीयले खैजडी भजन, झाँक्रीनाच, लोकदोहोरी, कन्सर्टका साथमा विविध मनोरञ्जनात्मका कार्यक्रम, स्थानीय कृषि उपज प्रदर्शनी महोत्सवका थप आकर्षण रहेका छन । महोत्सवमा कुशादेवी मावि प्राङ्गणमा स्थानीय सामग्रीहरु, कृषि उत्पादन, स्थानीय जडिबुटी, स्थानीय घरेलु, उत्पादनका स्टलहरू राखिएका छन ।

 

कुशादेवी विहावर क्षेत्र भौगोलिक सुन्दरताले भरिपूर्ण तथ पर्यटकलाई आर्कषित गर्ने विभिन्न क्रियाकलाप संचालन गर्न सकिने र कृषिको सम्भावना बोकेको क्षेत्र भएको तर प्रचार प्रसारको कमीले अत्यन्तै न्यून मात्र पर्यटक आउने गरेकाले महोत्सव गरिएको सहआयोजक पनौती नगरपालिका प्रमुख एवम् महोत्सवका भीम न्यौपानेले जानकारी दिए ।

 

यस क्षेत्रमा पर्यटक आर्कषणका रुपमा समुन्द्रि सतहबाट करिब २७ सय मिटर अग्लो फुलचोकी, गुरदुम,नागी डाँडा जस्ता क्षेत्र रहेका छन् । जहाँबाट हिमश्रृङ्खलाको सहजै अवलोकन गर्न सकिन्छ । परम्परागत शैलिका घर मन्दिर, स्थानीयका परम्परा पर्यटकको मन छुने विषयका रुपमा रहेको स्थानीयले बताए । गुरदुमबाट प्याराग्लाइडिङको नियमित उडान शुरु गरिएको छ ।

 

जैविक विविधता, ट्राउट माछा, पंक्षि अवलोकन तथा विभिन्न जंगली जनावरहरुले उक्त भेगलाई रमणीय बनाएको भएपनि प्रचारप्रसार नहुदाँ ओझेलमा परेको आयोजकको भनाइ रहेको छ ।

 

महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषण गर्न प्याराग्लाइडिङ्ग, साइक्लिङ्ग र हाफ म्याराथन महोत्सवको मुख्य आकर्षण रहेका छन । जस अनुसार १६ गते हाफ म्याराथुन, १७ गते २७ किलोमिटर साइक्लिङ विशेष आर्कषणका रुपमा रहेका छन् । भने पनौती न.पा २ र ३ को वडा कार्यलयमा राष्ट्रिय स्तरका कलाकारको उपस्थितिमा दैनि सांस्कृतिक कार्यक्रम संचालन हुने आयोजकले जनाएको छ ।

 

जिल्लाबासी उपत्यका प्रवेश गर्ने सडक संजाल निर्माण हुनु अघि उपत्यका प्रवेशको एउटा महत्वपूर्ण नाकाको रुपमा यो क्षेत्र रहेको थियो । स्थानीय प्राचिन संरचना कला संस्कृतिको आधारमा यो प्राचिन क्षेत्रको रुपमा रहे पनि यसको प्रचार नहँुदा काठमाडौंबाट करिब एकदेखि डेढ घण्टामा नै आउन सकिने भएपनि पर्यटक आउने गरेका छैनन् ।

 

करिब ५० लाख खर्च हुने अनुमान गरिएको महोत्सवमा एक लाख आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने आयोजकले अपेक्षा लिएको जनाएको छ ।

 

फुल्चोकी नजिक भएको सो ठाउबाट पूर्वमा कञ्चनजङ्घा र पश्चिममा माछापुच्छे्र हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । साथै यस भेग हाइकिङकमा लागि समेत राम्रो सम्भावना बोकेको पर्यटक व्यवसायिहरुको भनाइ रहेको छ ।