काठमाडौं। महानायक राजेश हमालको एकल स्वरमा रहेको गीत 'गाउँले ठिटो'को भिडियो सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनय समेत हमालकै रहेको भिडियो रिलीज गरिएको हो । भिडियोको निर्देशन देवेन्द्र पाण्डेले गरेका छन् ।
गोबिन्द भट्टको शब्द रचना तथा सन्तोस श्रेष्ठको संगीत रहेको यस गीतमा अभिनेता हमाल गाउँले भेषभुषामा देखिएका छन् । रोजगारीको लागि विदेशिएको युवा आफ्नै गाउँ फर्केर कृषि कर्म गरी सफल बनेर उदाहरणिय व्यक्ति बनेको कथा उक्त भिडियोमा रहेको छ । भिडियोमा हमालको साथमा उत्तम केसी, गोबिन्द भट्ट, एस.के. दाहाल लगायतको अभिनय रहेको छ । उत्सव दाहालले छायांकन गरेको यस भिडियोका सम्पादक विकास दाहाल हुन् ।
गीत रिलीज कार्यक्रममा बोल्दै महानायक हमालले आफु गायक नभई नायक नै भएको भएको र गायन केवल प्रयास मात्रै रहेको बताए । विद्यालय जीवन सम्झँदै हमालले भने, ‘विद्यालयमा मेरो संगीतको शिक्षक नै बरिष्ठ संगीतकार गोपाल योन्जन हुनुहुन्थ्यो । छ कक्षा पढ्ने बेलासम्म उहाले अगाडी बोलाएर गाउन लगाउनु हुन्थ्यो । १० कक्षा पुग्ने बेला सम्ममा चाहिँ खै के भयो स्वर नराम्रो जस्तो लाग्यो । त्यसपछि कहिल्यै गाउने कोशिस नै गरेको थिईन । अहिले आएर गीत गाउने प्रयास गरेको हुँ ।’

हमालले आफुले अभिनय गरिरहेका अन्य म्यूजिक भिडियो जस्तो यो गीत नभएको बताउँदै तीन महिनाको मेहनत पछि यो गीत तयार भएको प्रष्ट पारे । ‘यो प्रोजेक्ट तयार हुन करिव तीन महिना लाग्यो । गीत रचना हुनुअगाडी देखि नै छलफल गरेर यो गीत तयार भएको हो । सम्पुर्ण नेपाल र नेपालीको कथा झल्किने गीतको चाहनामा पहिले देखि नै थिएँ', हमालले बताए ।
गीतको भुमिकामा आधारित प्रश्नको जवाफ दिँदै हमालले आम नेपालीहरुले अपनाउने जीवन शैलीलाई नै अभिनयको औजार बनाएको बताए । उनले भने, ‘मेरो जीवनमा हलो जोतेको अनुभव नै त छैन तर मैले जति पनि चलचित्रमा अभिनय गरेको छु ति सबैमा म कलाकार बनेर आम नेपालीहरुले अपनाउने जीवन शैलीलाई नै अभिनयको औजार बनाएको छु । प्रेम कथामा बनेको चलचित्रबाट अभिनय यात्रा सुरु भएता पनि मैले सँधै आम नेपालीको भावना प्रतिनिधित्व गर्ने भुमिकामा नै अभिनय गर्ने सोच थियो, जुन मैले मेरा धेरै चलचित्रमा गरेको छु ।'
हाल चर्चित ‘मेयर बन्नुपर्छ कि क्या हो' भन्ने प्रसंगमा हमालले आफुले व्यंगात्मक रुपमा उक्त कुरा भनेको बताए । 'कुनै नराम्रो शहरमा पनि केहि न केहि सुन्दर पक्ष हुन्छ । तर, काठमाडौंमा केहि पनि छैन । परिवारसँग समय बिताउने स्तरिय स्थान समेत छैन । यसतर्फ कसैको ध्यानसमेत छैन । केहि न केहि त हुनुपर्छ शहरमा भनेर मैले व्यंग्य गरेको हुँ', हमालले प्रष्ट्याए ।
कार्यक्रममा हमालकी पत्नी मधु भट्टराईको पनि उपस्थिती थियो । भट्टराईले हमालको गायन क्षमता यति धेरै राम्रो छ भनेर आफुलाई पहिले थाहा नभएको बताईन् । गीत हेर्दा रमाईलो लागेको बताउँदै उनले यो गीत गाउन आफुले प्रेरित गरेको सुनाईन् ।
संगीतकार सन्तोस श्रेष्ठले आफुले आजसम्म जम्मा दुईजनाको घरमा आफैले हार्मोनियम लिएर गएको बताए । उनले भने, 'मैले राष्ट्रकवि स्व. माधव प्रसाद घिमिरे र महानायक राजेश हमालको घरमा नै पुगेर उहाँहरुको अगाडी हार्मोनियम बजाएको छु । जसरी साहित्यमा राष्ट्रकवि गौरवको बिषय हुनुहुन्छ त्यसैगरी चलचित्रमा महानायक पनि गौरव हुनुहुन्छ । यसर्थ पनि मैले उहाँहरुको घरमै हार्मोनियम बोकेर पुगेको हुँ ।' श्रेष्ठले चल्तीका गायकको स्तरमा नै हमालले यो गीत गाएको जिकिर गरे ।
गीतकार गोबिन्द भट्टले नेपालको वास्तविकतालाई गीतमा उतारेको बताए । 'महानायकको रुचि र चाहनाअनुसार धेरैजसो नेपालीको भोगाई र वास्तविकतालाई गीतको रुपमा लेखेको हुँ । यो गीतको माध्यमबाट महानायकले दिएको सन्देश अहिलेको परिप्रेक्ष्यमा अति नै महत्वपूर्ण छ', भट्टले बताए ।
हमाल अभिनित पाँचवटा म्य़ुजिक भिडियो निर्देशन गरेका देवेन्द्र पाण्डेले हमालसँग ऐतिहासिक काम भएको बताए । 'यो काम एक इतिहास बन्नेछ भन्ने लागेको छ । यो गीतको प्रतिक्रियाबाट आगामी दिनमा महानायकसँगको सहकार्यता अझै सुमधुर हुने अपेक्षा गरेको छु', पाण्डेले बताए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ