काठमाडौं। विभिन्न देशहरुका डेल्फिक काउन्सिलहरुले सेप्टेम्बर १ मा एकसाथ आयोजना गरेको एकदिने चित्रकला कार्यशाला ‘डेल्फिक आर्ट वाल कोलिशन’ नेपालमा पनि आयोजना गरिएको छ । गत वर्ष नेपालमा गठन भएको ‘अन्तराष्ट्रिय डेल्फिक काउन्सिल’को नेपाल च्याप्टर ‘नेशनल डेल्फिक काउन्सिल नेपाल’को आयोजनामा बिहीबार काठमाडौंको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको हलमा कार्यशाला सम्पन्न गरिएको हो ।
उक्त कार्यशालामा ८ बर्षदेखि ७० बर्षसम्मका ७५ जना विद्यार्थी तथा पेशागत चित्रकारहरुले ५ फिट उचाई तथा एक सय फिट लम्बाई रहेको एउटै क्यानभासमा ‘नेपालको कला संस्कृति’ बिषयमा आधारित रहि विभिन्न चित्रकलाहरु तयार पारेका छन् । १० बजेदेखि सुरु भएको चित्रकला कार्यशाला साँझ ५ बजेसम्म सञ्चालनमा थियो । कार्यशालामा विभिन्न विद्यालयका विद्यार्थीदेखि नाम चलेका चित्रकारहरुको सहभागिता रहेको थियो । चित्रकला कार्यशालाको समापनमा सम्पूर्ण चित्रकारहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यशालाको उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले विश्व शान्तिको कामना गर्दै खाली क्यानभासमा स्वयम्भूनाथ स्तूपको चित्र बनाएर कार्यशाला सुरु गरेका थिए । उद्घाटन गर्दै कुलपति कर्माचार्यले यो कार्यक्रम नेपालको लागि निकै नौलो रहेको बताए । उनले डेल्फिक काउन्सिलको नेपाल च्याप्टर स्थापनाको छोटो समयमा नै भइरहेको यो कार्यशाला अत्यन्त महत्वपूर्ण रहेको र यसले नेपाललाई संसारमा चिनाउने विश्वास व्यक्त गरे ।
चित्रकला कार्यशालामा सहभागीहरुले एकसाथ तयार गरेको क्यानभास विभिन्न अन्तर्राष्ट्रिय कला प्रदर्शनीहरुमा नेपालको तर्फबाट प्रस्तुत गरिने आयोजक संस्था डेल्फिक काउन्सिल नेपालका अध्यक्ष श्रीदेव बिएल (बाबुराम अर्याल)ले बताए । अर्यालले भने, ‘नेपालको कला क्षेत्र र कलाकारहरुलाई अन्तर्राष्ट्रिय स्तरमा पहुँच र सहभागीताको हेतु नेशनल डेल्फिक काउन्सिल नेपालले चालिरहेको अभियानमध्ये यो एक प्रमुख अभियान हो । कलाका सबै विधाहरुलाई समेटेर विश्वव्यापी रुपमा नेपाली कला र संस्कृतिलाई पहिचान दिलाउन र हाम्रो समृद्ध कलालाई मजबुत बनाउने हाम्रो प्रयास हो ।'
नेशनल डेल्फिक काउन्सिल नेपालका उपाध्यक्ष तथा कार्यशालाका कार्यक्रम निर्देशक जीवन कुमार पराजुलीले कला क्षेत्रमा रुचि रहेका विद्यार्थी तथा कलाकारहरुको क्षमता प्रस्फुटन गरी अन्तर्राष्ट्रिय रुपमा नै पहिचान प्राप्त गर्ने एक खुड्किलोको रुपमा चित्रकला कार्यशालालाई लिएको बताए । उनले नेपालको कला-संस्कृति बिषयमा आधारित रहेर चित्रकलामार्फत नेपालको कला-संस्कृतिको विरासतलाई विश्वव्यापी बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
नेशनल डेल्फिक काउन्सिल नेपालका गुडविल एम्बास्डर तथा कलाकार क्याप्टेन विजय लामाले यसप्रकारको चित्रकला कार्यशालाले नेपालको कला-संस्कृतिलाई संसारभर चिनाउन मद्दत गर्ने बताए । ‘एउटै क्यानभासमा कैयन कलाकारहरुले चित्रकला प्रस्तुत गर्नु सानो कुरा होइन । कला, साहित्य, संस्कृतिले हाम्रो पहिचान दिलाउँछ । आजको कार्यशालाले नेपाललाई नयाँ पहिचान दिलाउनेमा विश्वस्त छु,’ लामाले भने ।
चित्रकला कार्यशालामा सहभागी भएका अभिनेता शिव श्रेष्ठले राष्ट्रलाई चिनाउन चित्रकलाको ठूलो भूमिका रहने धारणा राखे । ‘आजको चित्रकला जर्मनीको संग्रालयमा राखिने कुरा सुन्दा मलाई झनै खुसी लाग्यो । यसरी नै हो राष्ट्रलाई संसारमा चिनाउने', उनले खुसी भावमा भने, ‘राष्ट्रिय झन्डादेखि गौतमबुद्धसम्मको चित्रकलाबाट अब नेपाललाई विश्वले चिन्दैछ । यो मानेमा हामी सबैले गर्व मान्नुपर्छ ।'
त्यस्तै, कार्यक्रम संयोजक जया शर्माले यस प्रकारका कार्यशालाहरुका कारण एकअर्कामा नयाँ विचार र नयाँ श्रृजना साझेदारी गर्न सकिने बताइन् । उनले भनिन्, ‘नेपाल डेल्फिकले मलाई यो कार्यक्रम संयोजन गर्ने जिम्मेवारी दिनु आफैंमा गर्वको कुरा हो । प्रायः कार्यक्रमहरु कुनै एक विधामा मात्र हुने गरेका थिए, तर डेल्फिकले कलाका सबै विधालाई एउटै प्लाटफर्ममा समेटेको छ । यो नै नेपालको लागि महत्वपूर्ण कुरा हो ।’ शर्मा एक नामी चित्रकार समेत हुन् ।
नेशनल डेल्फिक काउन्सिल नेपालका सचिव सुर्य बहादुर रास्कोटीले कला-संस्कृति नेपालको सुन्दर धरोहर रहेको र नेपालको कला-संस्कृतिलाई विश्वमाझ चिनाउने उद्देश्यले यो कार्यशाला आयोजना गरेको बताए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ