सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ७ फाल्गुन २०८१ / Wednesday, 19 February 2025

उम्मेदवार टुंग्याउन प्रधानमन्त्री सिन्धुपाल्चोकमा

प्रकाशित समय: मगलवार, ११ : ५७ बजे बैशाख १२ गते



उम्मेदवार टुंग्याउन प्रधानमन्त्री सिन्धुपाल्चोकमा

सिन्धुपाल्चोक- माओवादी केन्द्र अध्यक्ष रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल स्थानीय तह निर्वाचनमा जिल्ला उम्मेदवार टुंगो लगाउन मंगलबार सिन्धुपाल्चोक आएका छन्। आकांक्षी धेरै हुँदा जिल्ला पार्टीले उम्मेदवार छान्न सकस परेपछि सहजीकरणका लागि उनी आएको माओवादी केन्द्र सिन्धुपाल्चोक स्रोतले बतायो।

पार्टी अध्यक्ष दाहालसहित अहिले सुकुटेस्थित इक्वेटर बीच रिसोर्टमा तीन नम्बर प्रदेश र जिल्ला कार्यालयको संयुक्त बैठक बसिरहेको छ। 'सिन्धुपाल्चोकका केही तहमा उम्मेदवारको टुंगो लगाउन हम्मे परेपछि आकांक्षीबीच समन्वयका लागि अध्यक्षज्यूलाई बोलाइएको हो,' एक नेताले नागरिकन्युजलाई बताए।

दाहालको उपस्थितिमा जिल्लाका १२ वटै तहका उम्मेवादर मंगलबारै टुंगो लगाउने माओवादी केन्द्र जिल्ला पार्टीले जनाएको छ। केही तहमा सर्वसम्मत उम्मेदवार टुंगाए पनि बहुआकांक्षीले केही तहमा छनोट गर्न केन्द्रलाई सकस परिरहेको छ। खासगरी चौतारा र बाह्रविसे नगरपालिकामा मेयर उम्मेदवार छनोट गर्न जिल्ला पार्टीलाई हम्मे परेको छ। यहाँको उम्मेदवार बन्न पार्टीभित्रै संघर्ष र प्रतिस्पर्धा चुलिएको छ।

चौतारा नगर प्रमुखको उम्मेदवारमा नेताद्धय युवराज दुलाल र अमानसिंह तामाङको दाबी छ। मनोनयन दर्ता गर्ने दिन नजिकिँदै गर्दा दुबै अडानबाट पछाडि हटेका छैनन्। जिल्ला नेतृत्व दुलालको पक्षमा छ भने शालीन नेताको छबि बनाएका तामाङ दाबेदारीबाट पछि हट्ने मनस्थितिमा छैनन्। पूर्वलडाकु दुलाल पार्टी अध्यक्ष दाहालको सुरक्षा युनिटमा लामो समय काम गरेका नेता हुन् भने दुइटै संविधानसभा निर्वाचनमा समानुपाति उम्मेदवार बनाइएका तामाङ जिल्ला पार्टीका पूर्वउपाध्यक्ष हुन्।

दुलाललाई आत्मिय र मित्रवत व्यवहार गर्ने दाहालले तामाङलाई प्रदेश निर्वाचनमा उम्मेदवार बनाउने या अन्य अवसर दिने आश्वासन दिएर सहमति प्रयास गर्ने बताइएको छ। तामाङले पार्टीलाई अफ्ठेरो पर्दा धेरै पटक अवसर त्यागेकाले यसपटक उधारो (आश्वासन)मा सम्झौता नगर्ने निकटस्थसँग बताउँदै आएका छन्। दुलाल पार्टी कार्यकर्ता र तामाङ मतदाताबीच लोकप्रिय रहेको विश्लेषण माओवादी कार्यकर्ताले नै गर्दै आएका छन्।