काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग संयुक्त छलफल गर्दै मुलुकको राजनीतिक स्थायित्व, सुरक्षा व्यवस्था र आसन्न निर्वाचनका तयारीबारे विस्तृत चर्चा गरेकी छिन् ।
प्रधानमन्त्री कार्कीले देशको वर्तमान अवस्था र आगामी योजनाबारे जानकारी दिँदै भनिन्, ‘हामी राजनीतिक नेता होइनौँ । भदौ २३ गतेअघिसम्म यस्तो परिस्थिति आउला भन्ने अनुमान पनि थिएन । त्यो दिन बानेश्वरको एउटा घरमा थुनिँदा हामी आफै पनि विस्थापित भयौँ कि जस्तो भएको थियो ।’
उनले अन्तरिम सरकारको मुख्य प्राथमिकता निर्वाचनको वातावरण तयार पार्नु र संविधानले तोकेको परिधिभित्र रहेर काम गर्नु रहेको बताइन् । उनले भनिन्, ‘स्थायित्वका लागि निर्वाचित सरकार नै चाहिन्छ । निर्वाचन र राजनीतिक दल एकअर्काका परिपूरक हुन् । राजनीतिक दल नभई यो व्यवस्था चल्दैन ।’
प्रधानमन्त्री कार्कीले हालका आन्दोलन, विशेषगरी ‘जेनजी’ पुस्ताको सक्रियताबारे पनि टिप्पणी गर्दै उनीहरूका मागहरू विविध हुँदै गएको बताइन् । उनले भनिन्, ‘कतिपय जेनजीहरू चर्का कुरा गर्छन्, कतिपय निकै परिपक्व विचार राख्छन् । जे भए पनि ती सबै हाम्रा छोराछोरी हुन् । सिक्दै छन्, बुझ्दै छन् ।’
उनले जेनजी पुस्तालाई पनि लोकतान्त्रिक अभ्यासमा सहभागी हुन आग्रह गरिन्, ‘यदि आफ्ना एजेन्डा जनताबाट अनुमोदन गराउन चाहन्छन् भने पार्टी खोलेर चुनावमा सहभागी होऊ ।’
प्रधानमन्त्रीले मुलुकको सुरक्षासम्बन्धी तयारीबारे जानकारी दिँदै प्रहरीका लागि आवश्यक साधन–सामग्री जुटाउने काम अघि बढेको बताइन् । ‘प्रहरीका लागि तत्काल आवश्यक गाडी खरिद प्रक्रिया अघि बढिसकेको छ । छिमेकी मुलुक र अन्य मित्रराष्ट्रहरूले सहयोगको वचन दिएका छन्,’ उनले भनिन् ।
आन्दोलनका क्रममा क्षतिग्रस्त भएका प्रहरी संरचनामध्ये ९० प्रतिशत स्थानीय जनताले पुनर्निर्माण गरेको उल्लेख गर्दै कार्कीले यो कार्यलाई ‘जन–प्रहरी सम्बन्ध सुदृढ गर्ने उदाहरणीय कदम’ भन्दै प्रशंसा गरिन् ।
निर्वाचन तयारीबारे उनले भनिन्, ‘निर्वाचन आयोगलाई आवश्यक १२० प्रकारका सामग्रीमध्ये ९० प्रतिशतभन्दा बढी उपलब्ध भइसकेका छन् । बाँकी व्यवस्थापन हुँदैछ । आयोगले तोकिएकै मितिमा चुनाव सम्भव भएको विश्वास दिलाएको छ ।’
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ