सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, १ फाल्गुन २०८२ / Friday, 13 February 2026

२०७० दोहोर्याउने आत्मविश्वाससहित चुनावी मैदानमा ललितपुर कांग्रेस

प्रकाशित समय: आइतवार, ०५ : ४४ बजे माघ १२ गते



२०७० दोहोर्याउने आत्मविश्वाससहित चुनावी मैदानमा ललितपुर कांग्रेस

ललितपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस ललितपुरले स्पष्ट राजनीतिक सन्देश दिएको छ—अब कांग्रेसभित्र न गुट छ, न उपगुट; छ त केवल संगठन, एकता र जितको संकल्प। विशेष महाधिवेशनपछि फुटको संघारमा पुगेको भनिएको नेपाली कांग्रेस माघ ६ गते देशभर १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता भएसँगै पुनः एकताबद्ध भएको मात्र होइन, थप संगठित र आक्रामक रूपमा चुनावी मैदानमा उत्रिएको देखिएको छ।

 

ललितपुर कांग्रेसले प्रतिनिधिसभाका तीनवटै निर्वाचन क्षेत्रमा आफ्नै चुनाव चिन्ह ‘रुख’ लिएर उम्मेदवारी दर्ता गराउँदै राजनीतिक रूपमा बलियो सन्देश प्रवाह गरेको छ। ललितपुर क्षेत्र नम्बर १ बाट पार्टीका सहमहामन्त्री उदय शमशेर राणा, क्षेत्र नम्बर २ बाट महासमिति सदस्य प्रेमकृष्ण महर्जन र क्षेत्र नम्बर ३ बाट जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ उम्मेदवार बनेका छन्।

 

विगतका निर्वाचनमा कांग्रेसले उम्मेदवार त उठायो, तर आफ्नै घरभित्रको असहयोग, गुटगत स्वार्थ र मौन विद्रोहले चुनाव जित्न सकेन। त्यसको प्रत्यक्ष उदाहरण २०७४ सालको निर्वाचन हो, जहाँ एमाले–माओवादी गठबन्धनको सामना गर्न कांग्रेस एक्लै कमजोर सावित भयो र ललितपुरका तीनै क्षेत्र गुमाउन बाध्य बन्यो।

 

तर २०७० सालमा तीनै क्षेत्र जितेको कांग्रेसले २०७९ मा माओवादीसँग गठबन्धन गर्दै आंशिक पुनरागमन गर्‍यो। ललितपुर–१ बाट उदय शमशेर राणा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए भने प्रदेशसभामा मीनकृष्ण महर्जन र रामकृष्ण चित्रकार विजयी भए। यद्यपि, गठबन्धनका सीमाले कांग्रेस कार्यकर्तालाई आफ्नै चुनाव चिन्हमा मतदान गर्नबाट वञ्चित गराएको असन्तोष पनि स्पष्ट थियो।

 

यसपटक भने अवस्था पूर्णतः फरक छ। आफ्नै चुनाव चिन्ह ‘रुख’मा तीनै क्षेत्रमा भोट हाल्न पाउने भएपछि ललितपुर कांग्रेसका कार्यकर्ता उत्साहित मात्र होइन, आक्रामक रूपमा परिचालित देखिएका छन्। विगतमा कांग्रेसलाई कमजोर बनाउने गुट–उपगुट, समूह–उपसमूह सबै समाप्त भएको दाबी नेतृत्वको मात्र होइन, संगठनात्मक गतिविधिमा देखिएको यथार्थ हो।

 

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका क्रममा ललितपुर जिल्ला अधिवेशनमा बनेका दुई धार अहिले एउटै मोर्चामा उभिएका छन्। विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठ, पूर्व सभापति तथा पूर्व केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य मदनबहादुर अमात्यलगायत प्रभावशाली नेताहरू खुलेरै तीनै क्षेत्रका उम्मेदवारको पक्षमा उभिएका छन्। उनीहरूले ‘यसपटक ललितपुर कांग्रेसकै हुने’ भन्दै उम्मेदवारलाई उल्लासका साथ प्रचारप्रसारमा लाग्न निर्देशन दिएका छन्। 

 

नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि कांग्रेस थप मजबुत बनेको र जनतामा नयाँ आशा पलाएको गोदावरी नगरपालिकाका नगर प्रमुख समेत रहेका जिल्ला उपसभापति गजेन्द्र महर्जन बताउँछन्। 

 

नेपाली कांग्रेस ललितपुरका कार्यवाहक सभापति सुदर्शन घिमिरेले बदलिँदो राष्ट्रिय परिस्थिति र कार्यकर्तामा देखिएको ऊर्जा हेर्दा ललितपुरमा २०७० साल दोहोरिने प्रष्ट आधार तयार भइसकेको दाबी गरेका छन्।

 

स्थानीय तह निर्वाचन २०७९ को परिणामले पनि कांग्रेसको संगठनात्मक शक्ति पुष्टि गरिसकेको छ। कांग्रेसले ललितपुर महानगरपालिका प्रमुख, गोदावरी नगरपालिकाको प्रमुख–उपप्रमुख, महालक्ष्मी नगरपालिका उपप्रमुख, बागमती अध्यक्ष, महाङ्काल अध्यक्ष र कोन्ज्योसोम गाउँपालिकाको उपाध्यक्ष नेतृत्व सहित ७१ वडामध्ये ३८ वडामा जित हात पारेको थियो। ललितपुर महानगरपालिका वडा नम्बर १ र १३ का स्वतन्त्र निर्वाचित अध्यक्ष कांग्रेसमा प्रवेश गरेसँगै जिल्लामा कांग्रेसको पकड ४० वडामा विस्तार भएको छ।

 

यस्तै, जिल्ला समन्वय समितिको प्रमुखमा कांग्रेसका जिल्ला सहसचिव ऋषिदेव फुयाँलको जितले जिल्लामा कांग्रेसको राजनीतिक प्रभुत्व थप पुष्टि गरेको थियो।

 

सबै तहका नेता, जिल्लादेखि गाउँसम्मको संगठन, नेतृत्व र कार्यकर्ताबीच देखिएको एकता र आत्मविश्वासले फागुन २१ को निर्वाचनलाई ललितपुर कांग्रेसका लागि ‘प्रतिस्पर्धा होइन, निर्णायक परीक्षा’ बनाइदिएको छ।