सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

पार्टीभित्रको एकता र सद्भाव मेरो चुनाव जित्ने आधार हो : रामचन्द्र खड्का

प्रकाशित समय: मगलवार, ०८ : २२ बजे माघ २१ गते



पार्टीभित्रको एकता र सद्भाव मेरो चुनाव जित्ने आधार हो : रामचन्द्र खड्का

रामेछाप। नेपाली कांग्रेस रामेछापबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका रामचन्द्र खड्काले पार्टीभित्र देखिएको अभूतपूर्व एकता र सद्भाव आफ्नो चुनाव जित्ने पहिलो आधार बनेको बताएका छन्।

 

खाडादेवी गाउँपालिकाको मझुवामा आयोजित चुनावी घरदैलो कार्यक्रमका क्रममा कार्यकर्तासँग भेटघाट गर्दै खड्काले आफूले टिकट पाएपछि नेतृत्व तहमा देखिएको एकता र सद्भाव नै आफ्नो जितको मुख्य आधार भएको बताए।

 

उनले भने, “मेरो लामो राजनीतिक यात्रामा मैले व्यक्तिगत स्वार्थ कहिल्यै राखिनँ। नेतृत्वमा रहँदा पनि ठूलो छाती बनाएर सबैलाई समेटेर काम गर्ने प्रयास गरें। त्यसैको परिणामस्वरूप आज सबै खुशीका साथ साथ दिनु भएको छ। सबैको सद्भाव छ, त्यसैले एकता नै मेरो जितको बल हो।”

 

खड्काले पदमा रहेर होस् वा नरहेर, जीवनको अन्तिम घडीसम्म राजनीतिक यात्रालाई सामाजिक सेवाको भावले अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे।

 

 

कार्यक्रममा नेपाली कांग्रेस रामेछाप प्रदेश सभा ‘क’ का सभापति निरोज खड्काले रूपान्तरित नेतृत्वसहित आएको नेपाली कांग्रेस चुनावमा सहभागी हुन मात्र नभई अत्यधिक बहुमतसहित सरकारको नेतृत्व लिन आतुर रहेको बताएका छन्।

 

चुनावी कार्यक्रममा बोल्दै उनले भने, “परिवर्तन भएर आएको कांग्रेसप्रति अझै पनि नागरिकको भरोसा छ। कांग्रेस यतिबेला सुधारका स्पष्ट आधार र एजेन्डा बोकेर निर्वाचनमा होमिएको छ। निर्वाचनअघि कांग्रेसले देखाएको परिवर्तनको अनुभूति नागरिकले विजयपछि पाउनेछन्।”

 

उनले नागरिकलाई एकपटक कांग्रेसलाई अवसर दिन आग्रह गर्दै निर्णायक शक्ति आम नागरिक नै भएको बताए।

 

खड्काले भने, “व्यक्तिले जित्नु भन्दा पनि पार्टीले जित्नु महत्वपूर्ण कुरा हो। गौरवपूर्ण इतिहास बोकेको कांग्रेसलाई फरक ढंगबाट मुलुकको नेतृत्व गर्ने अवसर नागरिकले प्रदान गर्नेछन् भन्नेमा म आशावादी छु।”

उनका अनुसार पात्र र प्रवृत्ति फेरेर नयाँ नेतृत्वसहित अघि बढेको कांग्रेस अब देशकै मुहार फेर्न अग्रसर छ।

 

उनले थपे, “कांग्रेस विजयी भएमा गाउँ, वडा, पालिका हुँदै सिंगो मुलुक समृद्धिको बाटोमा अगाडि बढ्नेछ। यसको संकेत कांग्रेसको विशेष महाधिवेशनले नै देखाइसकेको छ।”