सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

प्रकाशित समय: सोमवार, ०४ : ३६ बजे असार १८ गते



ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा समरजंग कम्पनीका तत्कालीन अधिकृत रमेश कुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जन पक्राउ परेका छन् ।

 

ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजान सरकारी कागज किर्ते गरेको कसूरमा गृह मन्त्रालय अन्तर्गतको समरजंग कम्पनीका तत्कालीन अधिकृत पोखरेल र पशुपति टिकिन्छा गुठी मार्फत् नक्कली मोही खडा गरिएका महर्जन पक्राउ परेका हुन् ।

 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरूलाई सोमबार दिउँसो काठमाडौंबाट नियन्त्रणमा लिएको हो । यससँगै यस प्रकरणमा हालसम्म आठ जना पक्राउ परिसकेका छन् । तीन जना भने अदालतको आदेशका कारण पक्राउ परेपछि छुटेका छन् ।

 

तत्कालीन अधिकृत पोखरेलले समरजंग कम्पनीका नाममा रहेको जग्गालाई सरकारी कागज किर्ते गरेर टिकिन्छा गुठीमा लैजान कागजात तयार पारेका थिए ।

 

त्यस्तै गुठीमार्फत् नक्कली मोही खडा गरिएका महर्जनले ६ लाख रुपैयाँ लिएर आफू नक्कली मोही बन्न तयार भएको अनुसन्धानमा खुलेको छ ।