घोराही, दाङको घोराहीमा रहेको कारागारको क्षमता ५० जनाको भए पनि त्यहाँ अहिले २७४ कैदीबन्दी छन् । कारागारका सूचना अधिकृत योगेन्द्र रिजालका अनुसार हाल कारगारमा सजाय तोकिएका १६६ र सजाय नतोकिएका १०८ कैदीबन्दी छन् ।
उक्त कारागारमा ठाउँ अभावका कारण पुरुषलाई मात्र राखिएको छ । त्यसमा पनि क्षमताभन्दा पाँच गुणा धेरै कैदीबन्दी बस्न बाध्य छन् । कारागारका प्रमुख पर्साराम भुसालले जाडोमा भन्दा पनि गर्मी मौसममा कैदीबन्दीलाई बस्न र सुत्नका लागि समस्या हुने गरेको बताउनुभयो ।
“कैदीबन्दीका लागि एउटा कोठामा एक लाइनमा बनाइएको खाटलाई दुई लाइन बनाइएको छ”, उहाँले भन्नुभयो, “कैदीबन्दीकै लागि भनेर भान्सा कोठा र कोठा बाहिरको खाली ठाउँमा त्रिपाल टाँगेर सुत्ने ठाउँ बनाइए पनि उनीहरु अटाउन मुस्किल परिरहेको छ । अब खाटमाथि खाट जोडेर पनि सुत्न दिने व्यवस्था गरिरहेका छौँ ।”
धेरै कैदीबन्दी भएकाले उनीहरुलाई अन्यत्र पठाउने प्रयास गरे पनि अन्तको समस्या पनि त्यस्तै भएपछि उनीहरु अन्यत्र जान सकेका छैनन् । कहिलेकाहीँ त अदालतले कैदको समय नतोकेर धेरै व्यक्तिलाई एकै पटक पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकाले ह्वात्तै कैदी थपिँदा उनीहरुको खानपान र सुत्नका लागि समस्या हुने गरेको कारागार प्रमुख भुसालले बताउनुभयो ।
घोराहीमा विसं २०५८ मा कारागार भवन बनेको थियो । उहाँका अनुसार क्षमताभन्दा धेरै कैदीबन्दी भए पनि खानेपानीको व्यवस्था, नियमित स्वास्थ्य जाँच र खेलकूदका सामग्रीका साथै सबै पत्रपत्रिका एवं पुस्तकालयको व्यवस्था गरिएको छ ।
कारागारको नियमानुसार आइतबार, मङ्गलबार र बिहीबार आफन्तसँग भेटघाट गर्न अन्य बार आफन्तसँग फोनमा कुरा गर्न पनि दिइएको छ । त्यहाँका केही कैदीबन्दीले काठबाट निर्माण हुने टेबल, सोफा, बेन्च, खाट, दराज बनाएर मनग्य आम्दानी गरिरहेका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ