सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

पाँच वर्षपछि तीन बालकको भारतबाट उद्धार

प्रकाशित समय: शुक्रवार, १० : ३९ बजे माघ ४ गते



 पाँच वर्षपछि तीन बालकको भारतबाट उद्धार

राँझा, बाँके खजुरा गाउँपालिका–६ सिमलघारीबाट बेपत्ता भई भारत पुगेका तीन बालकलाई पाँच वर्षपछि प्रहरीले उद्धार गरी घर फर्काएको छ ।

 

सिमलघारी निवासी सुमन पुन, जयराम पुन र विकास परियारलाई पाँच वर्षपछि पारिवारिक पुनर्मिलन गराइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो ।

 

विसं २०७० माघमा उनीहरु गाउँका मङ्गल बमसँगै भारत गएर सम्पर्कविहीन भएका थिए । गत पुस २१ गते बालकलाई भारत लैजाने बम एक्लै गाउँ फर्किएपछि बालकका आफन्तले खोजीका लागि प्रहरीमा निवेदन दिएको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो ।

 

निवेदनलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले बेपत्ता बमको सहयोगमा बालकलाई भारतबाट उद्धार गरी नेपाल ल्याएर बिहीबार अभिभावकको जिम्मा लगाएको उहाँले बताउनुभयो ।

 

उद्धारपश्चात् बालकले आफूहरु भारत हिमाञ्चल प्रदेशको एक होटलमा काम गर्दै आएको बताएका छन् । पाँच वर्षदेखि बेपत्ता छोरालाई भेटेपछि अभिभावक खुशी भएका थिए ।