सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

ललिता निवास प्रकरण : सचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

प्रकाशित समय: शुक्रवार, ०७ : ४४ बजे श्रावण ५ गते



ललिता निवास प्रकरण : सचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

 

राउतका परिवार बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च गएको थियो । न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले राउतलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने आधार, कारण र औचित्य नदेखिएको बताएको छ ।

 

उनलाई अनुसन्धान सम्पन्न नभएसम्म नेपाल बाहिर जान नपाउने गरी मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ बमोजिम तारेखमा राखेर मुद्दाको अनुसन्धान गर्न सर्वोच्चले परमादेश दिएको हो ।ललितानिवास जग्गा प्रकरणमा छानबिनका लागि भन्दै सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई असार २४ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी) ले पक्राउ गरेको थियो ।

 

उनलाई सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएपनि विदेश जान भने रोक लगाएको छ । आदेशमा राउतलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्नेसम्मको स्थिति नदेखिएकाले तारेखमै राखेर अनुसन्धान गर्न आदेश दिइएको उल्लेख छ । यद्यपि राउतलाई अनुसनधान गर्ने निकाय र मुद्दा दायर भएपछि सम्बन्धित अदालतको आदेशमा बाहेक देशबाहिर जान भने प्रतिबन्ध लगाइएको आदेशमा उल्लेख गरिएको छ ।