ललितपुर,महाँकाल गाउँपालिकाले विभिन्न संघ संस्था तथा सरोकारवालबाट गाउँपालिकाले किसानलाई कर लगाएको भनि गरिएको गलत प्रचार प्रति गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। "स्थानीय सरकार संचालन ऐन २०७४ परिच्छेद ९, गाउँपालिका तथा नगरपालिकाको वित्तीय अधिकार क्षेत्र अन्तर्गत धारा ५८ मा व्यवसाय कर : गाउँपालिका तथा नगरपालिकाले आफ्नो क्षेत्रभित्र व्यापार, व्यवसाय वा सेवामा पूँजिगत लगानी र आर्थिक कारोबारको आधारमा व्यवसाय कर लगाउने छ " भनि प्रष्ट उल्लेख छ।
त्यस्तै "अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४" को परिच्छेद-२ राजश्व अधिकार अन्तर्गत दफा ३ को उपदफा ३ मा स्थानीय तहले कानुन बमोजिम अनुसुची -३ मा उल्लेखित सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिस्ट्रेशन शुल्क, सवारी साधन कर, भूमि कर (मालपोत), मनोरञ्जन कर, विज्ञापन कर, व्यवसाय कर तथा गैर कर लगाउन र उठाउन सक्ने कानूनी व्यवस्था छ।
स्थानीय सरकार संचालन ऐन र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, कानूनका आधारमा चालू आ.व २०८०/०८१ का लागि मिति २०८०/०३/१५ गतेको गाउँसभाको बैठकले दुध निकासी व्यवसायिक कर लिने निर्णय भएको गाउँपालिका प्रवक्ता जोनी कुमार न्यासुरद्धारा जारी विज्ञप्तिमा भनिएको छ।
उनले दुध निकासी कर किसान सँग नभएर दुध संकलक र दुग्ध उद्योमी सँग मात्र लिने सहमति भएको बताए। दुध निकासी कर गाउँपालिकालाई बुझाउने सम्बन्धमा सम्वन्धित दुग्ध उद्योमी सँग मिति २०८०/०३/२५ गते र दुध संकलकहरुसँग मिति २०८०/०४/०५ गते छलफल भएको बताए।
छलफलबाट किसानहरुलाई कुनै पनि व्यय भार नपर्ने गरी दुग्ध उद्योगी र दुध संकलकले निकासी / व्यवसायिक कर बापत प्रति लिटर ०.२० पैसाको दरले गाउँपालिकालाई कर बुझाउने दोहोरो सहमति समेत भएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख दिपक दुलालले बताए।
दुध संकलक तथा खुवा व्यवसायी राम कुमार चौलागाईं (बिष्णु)ले गाउँपालिकाले व्यवसायीलाई करको दायरामा ल्याउनु राम्रो भएको प्रतिक्रिया दिए। उनले गाउँपालिकाले लगाएको व्यवसायिक कर बुझाउन आफू तयार रहेको तर संकलित कर दुरुपयोग भएको खण्डमा आफूहरु गाउँपालिका विरुद्ध उत्रन र त्यस्ता कर बुझाउन बाध्य नहुने जानकारी दिए।
महाँकाल गाउँपालिकाका ६ वटा वडामा ३० भन्दा बढी दुध संकलन केन्द्र रहेका छन्। दुध संकलन केन्द्रबाट दैनिक २० हजार लिटर दूध संकलन हुने गर्दछ। संकलित दुध नवप्रभात डेरी, राजधानी डेरी,मदानी डेरी, जिल्ला दुध उत्पादन सहकारी संघ लगायतका दुग्धजन्य उद्योगमा निकासी हुने गरेको छ ।
दुध व्यवसाय करबाट जम्मा हुने राजश्व किसानका हितमा खर्च गर्ने सहमति भएको प्रवक्ता न्यासुरले बताए।
भौगोलिक विकटताको कारण वर्षायाममा बाटो अवरुद्ध हुँदा किसानहरु मारमा पर्ने गरेको सरोकारवाला सबैमा विदितै छ । वर्षायाममा किसानहरुले भोग्ने गरेको समस्याको सहजीकरणको लागि पालिका र व्यवसायी मिलेर साझेदारीमा अवरोध हटाउने समेत सहमति भएको व्यहोरा सम्पुर्ण किसान तथा सरोकारवालाहरु तथा आम नागरिकहरुको जानकारी गराइन्छ जारी विज्ञप्तिमा भनिएको छ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ