काठमाण्डौं, २० साउन । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षान पुन अनन्तले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गरेको बताएका छन् ।
राजधानीमा जारी पार्टी केन्द्रीय समिति बैठकमा शनिबार बोल्दै पुनले जस्तोसुकै अप्ठ्यारो परिस्थिति आए पनि भ्रष्टाचार र बेथितिविरुद्ध थालिएको अभियान बीचैमा नरोकिने र रोक्न नहुने उल्लेख गरे ।पुनले आफ्नै दलभित्र पनि कोही भ्रष्टाचारमा संलग्न भएको पुष्टि भए उन्मुक्ति दिन नहुनेमा जोड दिए । ‘सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गराएको छ । अध्यक्ष कमरेड तपाईंको अभियानमा हाम्रो दह्रो साथ छ’, पुनले भने, ‘कुनै पनि हालतमा यो अभियान रोकिँदैन र रोकिनु हुँदैन । छानबिन गर्दा पार्टीकै कोही नेता परे पनि सजाय भोग्न तयार हुनुपर्छ । यो अभियानले हामी कसैको बलिदान माग्छ भने पनि तयार हुनुपर्छ ।’
उनको प्रष्टीकरण सय केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङसँग आठ वर्षअघि खिचेको सामूहिक तस्बीरलाई लिएर आफूबारे उठेको प्रश्नप्रति लक्षित थियो । गृह जिल्ला रोल्पाकी शहीद परिवारकी सदस्य एवं पार्टी कार्यकर्ता अमला रोका मगरले दावासँग विवाह गरेर चिनजानका लागि ल्याउँदा खिचिएको तस्बीरलाई लिएर अनर्थ लगाइएको प्रष्टीकरण पुनले यसअघि नै दिइसकेका थिए ।
बैठकमा पुनले सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानलाई पार्टी पुनःनिर्माणको मौकाको रुपमा सदुपयोग गर्नुपर्ने बताए । भ्रष्टाचारविरुद्ध चालिएका कदम देश, समाज र पार्टीको समेत शुद्धीकरण अभियान भएको उनको भनाइ थियो ।
पुनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प कसैले नखोजेको भन्दै उत्तराधिकारी निर्माणबारे विधिको विकास गर्नुपर्ने बताए । ‘अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन । अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु’, उनले भने, ‘ उत्तराधिकारी तयार पार्न विधिको विकास गरेर जाऔं ।’ पुनले पार्टीमा विद्यमान समस्या विचारको नभई विधिको भएको चर्चा गरे ।
पार्टी संगठनमा तीन एकको (पाका, प्रौढ र युवा) नीति लागू गर्नुपर्ने विचार पुनले व्यक्त गरे । पार्टीमा देखिएका समस्याको समाधान आगामी विधान सम्मेलनबाट हल गर्न उनले प्रस्ताव राखे । पार्टी पुनर्निर्माणको ऐतिहासिक सम्भावना रहेको चर्चा गर्दै पुनले वर्गसंघर्ष र राजनीतिक संघर्षको रूप फेरिएको बताए । यस्तो अवस्थामा सरकार प्रमख मोर्चा भएको निस्कर्ष उनको थियो । पुनले डिजिटल युग सुहाउँदो पार्टी बनाउनुपर्ने प्रस्ताव पनि बैठकमा राखे ।
फरक प्रसंगमा उनले आफू लामो समय स्वास्थ्य उपचारमा संलग्न हुनुपरेका कारण पार्टी नेता कार्यकर्ताका बीचमा उपस्थित हुन नसकेको स्मरण गरे । पार्टीअध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा चीनमा उपचार गराएर फर्किएको र पूर्ण स्वस्थ भएको जानकारी केन्द्रीय समितिलाई गराए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ