काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि सुन तस्कारीको घटनाबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग दोहोर्याइएको छ ।
बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद् योगेश भट्टराईले सुन तस्कारीको जरोसम्म पुगेर घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै उच्चस्तरीय समिति गठन हुनुपर्ने विषयमा विमति राख्न आवश्यक नभएको धारणा राखे । उनले प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि नै छानबिन गर्नुपर्ने भएकाले उच्चस्तरीय समिति गठन गर्नु पर्ने बताए ।
‘गृहमन्त्रीजी तपाईको फिल्ड कमिसार को छ ? फिल्ड कमिसारले तपाईंको आदेश मानेको छैन कि फिल्ड कमिसारको सूचना तपाईंले भेरिफाइ गर्नुभएको छैन ?’ भट्टराईले सोधे, ‘गृहमन्त्रीसँग कसले बयान लिन्छ, सीर्आबीले लिन्छ, राजस्व अनुसन्धानले लिन्छ ?
सांसद भट्टराईले अगाडि भने, ‘अर्थमन्त्रीसँग हाम्रो प्रश्न छ, प्रधानन्त्री कार्यालयसँग हाम्रो प्रश्न छ, राष्ट्रिय अनुसन्धान विभागसँग हाम्रो प्रश्न छ । यत्रा निकाय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदा यी कहाँ सुतेका थिए यिनीहरुमाथि प्रश्न कसले उठाउँछ ? सीआईबीले उठायो ? राजस्व अनुसन्धानले उठाउँछ ? भन्सार विभागले उठायो ? अध्यागमन कहाँ छ ? एयरपोर्ट म्यानेजमेन्ट कहाँ छ ? यी तमाम विषयको छानबिन नगरीकन यो फ्याक्ट फाइन्डिङ हुन सक्दैन ।’
उनले सार्वजनिक लेखासमितिको बैठकले पनि समिति गठन गर्न सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको स्मरण गराए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सोही विषयमा राखेको सार्वजनिक महत्वको प्रस्तावमा आफ्नो पार्टीको समर्थन गरेको स्पष्ट पारे ।
भट्टराईले तीन दलका शीर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रतिबद्धता व्यवहारमा रुपान्तरण भएमा सदनमा एमालेले कुनै अवरोध नगर्ने उल्लेख गरे ।
यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा बाहिरिएको र पक्राउ परेको करिब एक सय किलो सुन तस्करीका सम्बन्धमा उच्चस्तरीय छानबिनको माग गर्दै एमाले सदनको अवरोध जारी राखेपछि प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेको थियो । उक्त बैठकमा शीर्ष नेता सदन सञ्चालनमा सकारात्मक भएपछि आजको प्रतिनिधिसभाको बैठक बसेको हो । सो विषयमा अन्य दलका सांसद्ले पनि बोल्ने क्रम जारी छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ