सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

संसद सञ्चालन गर्न सर्वदलीय बैठकमा दुईबुँदे सहमति

प्रकाशित समय: बुधवार, ०३ : ३३ बजे भदौ ६ गते



संसद सञ्चालन गर्न सर्वदलीय बैठकमा दुईबुँदे सहमति

काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच दुईबुँदे सहमति भएको छ ।

 

प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित थिए । बैठकमा सहभागी एक नेताका अनुसार दुई बुँदे सहमतिको मस्यौदा तयार भएको छ ।

 

सहमतिपत्र


१. मिति २०८० साल श्रावण २ गते विदेशबाट अवैध ढंगले पैठारी (तस्करी) गरिएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर लगिरहेको अवस्थामा राजश्व अनुसन्धान विभागबाट पक्राउ परेको थियो। उक्त विषय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान, छानबिन गरिरहेको सर्वविदित्तै छ। केन्द्रीय अनुसन्धान ब्यूरोले निष्पक्ष अनुसन्धान, छानबिन गरी सुन तस्करीमा संलग्न व्यक्तिहरूलाई अभियोजन गर्नेछ ।

२. विदेशबाट इलेक्ट्रिक सिगरेट ( Vapes) मा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको, मिति २०८० श्रावण २ गते ब्रेक-सुमा राखी अवैध पैठारी (तस्करी) गरिएको सुन लगायत पटक पटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र र निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्ण रुपमा नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधार र पटक पटकको सुन तस्करी सम्बन्धमा भएका छानबिन अनुसन्धान बारे समेत अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम २०८०/०६/०५ गते नेपाल सरकारले आयोग गठन गरी त्यसै दिनदेखि आयोगले कार्य प्रारम्भ गर्नेछ ।

१. रमेश लेखक – प्रमुख सचेतक, नेपाली काँग्रेस

२. पदम गिरी- प्रमुख सचेतक, नेकपा (एमाले)

३. हितराज पाण्डे मुख्य सचेतक, नेकपा (माओवादी केन्द्र)

४. सन्तोष परियार प्रमुख सचेतक, राष्ट्रिय स्वतन्त्र पार्टी,

५. ज्ञानबहादुर शाही- प्रमुख सचेतक, राष्ट्रिय प्रजातन्त्र पार्टी

६. प्रदीप यादव- प्रमुख सचेतक, जनता समाजवादी पार्टी

७. अब्दुल खान- प्रमुख सचेतक, जनमत पार्टी

उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध गर्दै आएको थियाे । आजै दिउँसाे ३ बजेका लागि संसद बैठक बोलाइएको छ ।