फिक्कल । इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ । उनी विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा (एमाले) संसदीय दलको उपनेतासमेत थिए ।
राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सुत्रधार एवं इमान्दार छवि बनाएका नेम्वाङ जिल्लाबासीका लागि ‘राजनीतिक मियो’ थिए । इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिष्ट राजनीतिमा होमिएका थिए । उनी २०३३ सालमा राजद्रोह मुद्दामा केही समय जेल परे । २०४८ र २०५२ सालमा राष्ट्रियसभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बनेका थिए ।
विसं २०५६ को संसदीय निर्वाचन जितेर नेम्वाङ सार्वजनिक लेखा समिति सभापति बनेका थिए । उनी जनआन्दोलन विसं २०६२/६३ को जनआन्दोलनको सफलतासँगै पुनःस्थापित प्रतिनिधिसभाको सभामुख भएका थिए । नेम्वाङ २०६४ र २०७० सालमा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए । संविधानसभाबाट नेपालको संविधान जारी गर्न उनले समन्वयकारी भूमिका निर्वाह गरेका थिए ।
नेम्वाङको अवसानले इलाम शोकाकुल
नेम्वाङको निधन भएको खबर पाएसँगै जिल्ला तहका विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियान्ता, विद्यार्थीलगायतले दुःख व्यक्त गरिरहेका छन् । नेम्वाङको निधनबाट देशले अपूरणीय क्षति व्यहोर्नुपरेको अधिकांशको भनाइ छ ।
इलाम क्षेत्र नं १ का सांसद महेश बस्नेतले इलामको मियो ढलेको बताए । उनले देश र जनताका लागि पु¥याएको योगदान अतुलनीय हुने जनाउँदै देशले नै शोक मनाइरहेको बताए ।
गत आमनिर्वाचनमा नेम्वाङसँग थोरै मतान्तरले पराजित भएका नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले उनलाई इलामले सधैँ सम्झिरहने बताए । “पटक–पटक यस क्षेत्रको प्रतिनिधित्व गर्दै सुवास दाइले इलामको चौतर्फी विकासमा ठूलो योगदान दिनुभएको छ”, उनले भने, “इलामका बालबच्चादेखि वृद्धवृद्धासम्म सबैको सधैँ प्रिय भएरै बिदा हुनुभयो ।”
“उहाँ पार्टीको मात्र नभएर सारा नेपालीको नेता हुनुहुन्थ्यो”, नेकपा (एकीकृत समाजवादी) इलामका अध्यक्ष भक्त केसीले भने, “उहाँको अभाव नेपाली राजनीतिमा सधैँ खड्कने छ ।”
राजजनीतिमा खासै चासो नभएको बताउने इलामका विद्यार्थीसमेत नेम्वाङको निधनले दुःखी भएको बताउँछन् । इलाम क्याम्पसमा अध्ययनरत विद्यार्थी रोशन सापकोटाले भने, “म धेरै राजनीति त जान्दिनँ तर उहाँको ब्यक्तित्वबाट प्रभावित थिएँ । एकाबिहानैको खबरले स्तब्ध भएँ ।”
नेकपा (माओवादी केन्द्र)का जिल्ला नेता रञ्जित श्रेष्ठले कम्युनिष्ट शक्तिहरूलाई एक बनाएर लैजानमा उनले चालेको कदम बिर्सन नसकिने बताए। “कम्युनिष्टहरू एक भएर आएमा मात्र यो देश समृद्ध बन्छ भन्नेमा उहाँ प्रष्ट हुहुन्थ्यो”, उनले भने, “सुवास सरको निधनले इलामलाई मात्र होइन, देशको कम्युनिष्ट आन्दोलन नै कमजोर हुनसक्ने देख्छु ।”
माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले भने, “उहाँले देखाउनुभएको बाटोमा इलाम अघि बढ्नेछ । उहाँले पूरा गर्न नसकेका समृद्ध इलामको सपना हामी सबै मिलेर पूरा गर्नुपर्छ ।”
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ