काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कारको मुद्दामा आइतबार काठमाडौँ जिल्ला अदालतमा सुनुवाइ हुँदैछ । गत साता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा राखिएको थियो । यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेका छन् ।
उक्त मुद्दाको थुनछेक बहसपछि १८ कात्तिक २०७९ मा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।बयानका क्रममा सन्दीपले आफूमाथिको बलात्कारको आरोप अस्वीकार गरेका थिए भने पीडित (गौशाला-२६) घटना भएको दिन १८ वर्ष उमेर पूरा भइसकेको भनेर प्रमाणको रुपमा केही कागजात पेस गरेका थिए ।
त्यसपछि थुनछेक आदेशसँगै अदालतले सम्बन्धित स्थानीय तहबाट पीडितको जन्म दर्ताको अभिलेख किताबको सक्कल प्रति र नागरिकताको प्रमाणपत्र बनाउँदा भरेको अनुसूची फारमको प्रतिलिपि झिकाउन आदेश दिएको थियो ।
तर यसबीचमा अदालतमा फरक-फरक जन्म मिति भएका कागजहरू आइपुगेका थिए । वडा कार्यालयले सुरुमा जिल्ला अदालतमा किशोरीले जन्म दर्ता गर्दाको जन्म मिति १८ असार २०६१ भएको विवरण पठाएको थियो । तर उक्त विवरणमा अदालतले प्रश्न उठाएर अभिलेख नै पठाउन आदेश दिएपछि वडा कार्यालयले जन्म दर्ता अनलाइन माध्यमबाट भएकाले कार्यालयमा अभिलेख नरहेको जवाफ पठाएको थियो ।
पछि सन्दीपले आफूले बयानका क्रममा पीडितको जन्म दर्ता भनी पेस गरेको कागजात एक शुभचिन्तकले दिएको र आफूले उनलाई नचिन्ने बताएका थिए ।न्यायाधीश घिमिरेको इजलासले गरेको आदेश अनुसार जिल्ला प्रशासन कार्यालयले पठाएको विवरणमा अभियोग पत्रमा पेस भएको र पीडितले भनेको अनुसारकै जन्म मिति १८ जेठ २०६२ नै उल्लेख छ ।
सन्दीपले पीडित किशोरी जन्मिँदा अदालतको अभिलेख किताबको विवरण पनि फरक परेको पाइएको थियो । उनले पीडितको जन्म मिति १८ जेठ २०६१ पुष्टि हुने गरी पठाएको विवरणमा पनि आमाको नाम, उमेर जस्ता विवरण फरक परेका कारण सत्यतामा प्रश्न उठेको थियो ।
त्यसपछि सन्दीप पक्षले जिल्ला अदालतमा पेश गरेको गौशाला २६ का अभिभावकको बसाइसराइको कागजपत्रबाट उनी १८ वर्ष उमेर पूरा भएको पुष्टि हुन सकेको थिएन । ‘अब जे जति तन्काएपनि मगाउनुपर्ने विवरण र कागजात केही पनि बाँकी छैन,’ जिल्ला अदालत स्रोतले भन्यो, ‘सम्भवतः अबको सुनुवाइले निरन्तरता पाएर मुद्दालाई टुङ्गोमा पुर्याउला ।’
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ