काठमाडौं । भूगोल साहित्य समाजको चौथो वार्षिकोत्सव तथा साधारणसभा असोज ६ गते सम्पन्न भएको छ । कार्यक्रम समाजको सभाकक्ष दरबारमार्गमा आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि कवि, नियात्राकार एवम् साहित्यिक पत्रकार वियोगी बुढाथोकी हुनुहुन्थ्यो भने अतिथिहरूमा रामप्रसाद पन्त, विजयध्वज थापा, युवराज मैनाली, हिरण्यकुमारी पाठक, सुशील श्रेष्ठ, टेकराज जोशी, उद्धव खनाल, ममता मृदुललगायत रहनुभएको थियो ।
पहिलो सत्रको कार्यक्रममा वि.सं. २०८० सालको झगु–लक्ष्मी आचार्य भूगोल साहित्य पुरस्कार वरिष्ठ गजलकार एवम् अनुवादक रामबहादुर पहाडीलाई प्रदान गरिएको थियो । गत वर्ष स्थापित सो पुरस्कार यसपटक रु.२५०२५।– नगद रासी तथा सम्मानपत्र सहित प्रदान गरिएको हो । सो पुरस्कार समाजका आजीवन सदस्य ओम आचार्यले स्थापना गर्नुभएको हो । पुरस्कार वार्षिक रूपमा प्रदान गरिन्छ ।
२०७९ सालमा स्थापित सो पहिलोपटक इतिहासकार एवम् नियात्राकार देवीचन्द्र श्रेष्ठलाई प्रदान गरिएको थियो । पुरस्कृत स्रष्टा पहाडी लामो समय राष्ट्रिय वाणिज्य बैंकको सेवा गरी निवृत्त हुनुभएका अग्रज बैंकर हुनुहुन्छ । बैंकको जिम्मेवार ओहदमा रही कामकाज गर्दागर्दै पनि साहित्य सिर्जना तथा अनुवादका क्षेत्रमा उहाँले देखाउनुभएको सक्रियता र भाषा साहित्यको क्षेत्रमा पुर्याउनुभएको योगदान सबैका लागि अनुकरणीय रहेको छ । हाल ८३ वर्षको उमेरमा पनि उहाँ सिर्जनामा सक्रिय हुनुहुन्छ ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै पुरस्कृत व्यक्तित्व रामबहादुर पहाडीले पुरस्कार र सम्मानको लागि नभइ आफूले एक सचेत नागरिकको रूपमा लेखन मार्फत आफूलाई सधै सक्रिय राख्दै आएको बताउनुभयो र समाजको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वियोगी बुढाथोकीले समाजका साहित्यिक कृयाकलापको प्रशंसा गर्नुभयो भने आगामी दिनमा पनि समाजले अझ प्रभावकारी कार्यक्रमहरू गर्दै जाओस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको थियो ।
पहिलो चरणको कार्यक्रममा अतिथिहरू हिरण्यकुमारी श्रेष्ठ तथा श्री सुशील श्रेष्ठ ले शुभकामना व्यक्त गर्नु भएको थियो । सोही कार्यक्रममा कविहरू एचके धिताल, माधव विडारी, मुकुन्द पौडेल, बद्री उप्रेती, कणाद महर्षि, कात्यायन, बुद्धिराज पाण्डे, प्रकाश घायल, शुभाष चन्द्र पौडेल, मित्रलाल पंगेनी, भाग्यशाली अधिकारी, शैलेन्द्र शाह, त्रिलोचन आचार्य, गायत्री कुमार चापागाईँ र महेश रिजालले रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रममा पुरस्कृत व्यक्तित्व पहाडीको व्यक्तित्व र योगदान बारे समाजका उपाध्यक्ष दिनेशविक्रम थापाले प्रकाश पार्नुभएको थियो । दोस्रो सत्रमा सम्पन्न साधारणसभाले समाजको आर्थिक वर्ष २०७९/८०को आर्थिक तथा सांगठनिक प्रतिवेदन पारित गरेको थियो । दुबै सत्रको सभापतित्व समाजका अध्यक्ष विनोद नेपालले गर्नुभएको थियो भने दुबै कार्यक्रम सचिव शैलेन्द्रकुमार शाहले सञ्चालन गर्नुभएको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ