काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारलाई स्वस्थकर बनाउन जरुरी रहेको औंल्याउनु भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वर्ल्ड इन्भेस्टर विक–२०२३ का अवसरमा आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘सेयर बजारबाट आम लगानीकर्ताले फाइदा लिन पाए भने मात्र यसबाट केही हुने रहेछ भनेर लगानी गर्न अग्रसर हुन्छन् । आम सर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरी छ । अहिले चिन्ताको विषय चाहिँ त्यही हो । कतिपय बेलामा इनसाइडर ट्रेनिङका कुरा आउँछन्, सूचना लिक हुने प्रवृत्ति देखिएको छ, धितोपत्र बोर्डले यसलाई नियमनको दायराभित्र ल्याउनुपर्छ ।’
मन्त्री डा. महतले भन्नुभयो, ‘बढाइचढाइ गरेर आम लगानीकर्तालाई प्रभाव पार्ने प्रवृत्ति छ । त्यसै अर्थमा लगानीकर्तालाई धितोपत्र बोर्डले साक्षर बनाउनुपर्छ । यसैमा लगानी सुरक्षाका ज्ञान र जागुरुकता पैदा गर्न जरुरी छ ।’
स्वस्थ्य प्रतिस्पर्धाको वातारण निर्माण गर्न पनि जरुरी रहेको मन्त्री डा. महतले औंल्याउनु भयो । उहाँले भन्नुभयो, पहिला सीमित ब्रोकर मात्र थिए, अहिले ब्रोकरको संख्या बढेको छ, अब मनोपलाइज न्यून हुँदै जानेछ । यसको फाइदा आम लगानीकर्ताले प्राप्त गर्ने छन् ।
च्याटबोर्डको शुभारम्भ भएको जानकारी दिँदै मन्त्री डा. महतले भन्नुभयो, ‘यो बोर्डले सेयर बजारका विषयमा जिज्ञासा, जानकारी र गुनासोलाई तत्काल सम्बोधन सक्ने सहज प्लेटफर्मको प्रारम्भ भएको छ । यसको सबैले उपयोग गर्नु हुनेछ ।’
लगानी साक्षरता कमजोर रहेको तर्फ औंल्याउँदै लगानीका नयाँ तौरतरिका विकसित भइरहेका मन्त्री डा. महतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सूचना क्रान्तिले नयाँ अवसरसँगै चुनौति पनि आउँछन् । यससँगै हामीले आफूलाई तयारी राख्नुपर्छ । यसो भए मात्र लगानीकर्ता सुरक्षित हुन्छन् । यसैका लागि नियमनकारी निकाय धितोपत्र बोर्ड गठन भएको हो ।’
मन्त्री डा. महतले भन्नुभयो, ‘सेयर बजारमा जुन प्रवृत्ति छन्, सीमितले मात्र यो बजार बुझ्छन्, उनी यसमा खेल्न सिपालु छन् । उनीहरुले यसबाट प्रशस्त फाइदा उठाउँछन् । कुन बेला तल झार्ने, कुन बेला माथि पुर्याउने, कुन बेला के गर्दा फाइदा हुन्छ र, आम लगानीकर्ता बिलखबन्दमा पर्ने अवस्था नेपालमा विद्यमान छ ।’
सेयर बजार अहिले तल झरेको छ, त्यसका विविध कारण रहेको र रेगुलेसन, माइक्रो म्यानेजमेन्टमा समस्या आएको मन्त्री डा. महतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसको समाधान हुँदै जान्छ । सेयर बजारका लागि केही निर्णय चाडै आउँछ भन्ने मलाई विश्वास छ ।’
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ