सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १३ बैशाख २०८३ / Sunday, 26 April 2026

देश अराजकतातिर गइरहेको छ : काङ्ग्रेस नेता डा.कोइराला

प्रकाशित समय: शनिवार, ०७ : ५२ बजे आश्विन २० गते



देश अराजकतातिर गइरहेको छ : काङ्ग्रेस नेता डा.कोइराला

ललितपुर,नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं केन्द्रीय सदस्य डा.शेखर कोइरालाले देश अराजकतातिर गइरहेको आरोप लगाएका छन् । 

ललितपुरमा आज आयोजित “एक अथक यात्रीः सुरेन्द्रकुमार दाहाल” नाम पुस्तक सार्वजनिक गर्दै उनले देशमा जातिय विभेद तथा सामाजिक एवं धार्मिकका साथसाथै कूटनीतिक अराजकता मौलाउदै गइरहेको गुनासो गरे । 

उनले भने, “देशमा सुशासन कायम भएको देखिदैन । भ्रष्टाचार लगायतका गतिबिधि दिनानुदिन बढ्दै गइरहेको छ ।” दण्डहिनता एवं पराकाष्ठातर्फ मुलुक पुगिसकेको कोइरालाले चिन्ता व्यक्त गरे । 

 

आजका दिनमा सबैभन्दा ठूलो मिटरव्याजी बैंकहरु भइरहेका बताउँदै उनले देशमा आर्थिक चलायमान हुन नसक्नुको कारण उनीहरुले लिएको व्याज भइरहेको जिकिर गरे । 

नेपाल स्वयं आफू विकासको गतिमा अघि बढ्न सरकारले २५ प्रतिशत रकम शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने कोइरालाको माग रहेको छ । 

 

देशमा रहेका बेरोजगार युवालाई रोजगारका साथै उद्यमशीलतामा लगाउन सरकारको नेतृत्वमा रहेका व्यक्तिले इच्छाशक्ति देखाउनुपर्ने उनको सुझाव छ । 

देशमा हाल रहेको सरकार एकदमै सच्चिनुपर्ने अवस्थामा रहेको कोइरालाको बुझाइ छ । 

 

यसैगरी, त्रिभूवन विश्वविद्यालयका पूर्व डिन डा. रामप्रसाद खतिवडाले पुस्तकमा उल्लेखित व्यक्तित्व दाहाल काङ्ग्रेसका एक जुझारु नेता भएकाले उनको जीवनी पुस्तकमा समेटिएको सुनाए । 

 

त्यसैगरी, कवि एवं समालोचक रञ्जु दाहालले सो पुस्तकलाई चार खण्डमा विभाजन गरी राजनीतिक व्यक्तित्व दाहालका जीवनी एवं संघ्रर्ष पुस्तकमा प्रस्ट पारिएको बताइन । 

उक्त कार्यक्रमा काङ्ग्रेसका केही नेता एवं कार्यकर्ताको समेत उपस्थिती रहेको थियो ।