सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न एमालेको माग

प्रकाशित समय: सोमवार, ०३ : ३२ बजे आश्विन २२ गते



इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले इजरायलमा अप्ठ्यारोमा परेका नेपालीहरुको तत्काल उद्धार गर्न सरकारसँग माग गरेको छ ।

 

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार वक्तव्य जारी गर्दै हमासले इजरायलमाथि गरेको आक्रमणको निन्दा गरेका छन् ।घटनामा लर्न एण्ड अर्न योजना अन्तर्गत इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका १० नेपालीको मृत्यु भएकोमा दुखितरहेको उनले बताएका छन् ।उनले मृतकप्रति श्रद्धान्जली व्यक्त गर्नुका साथै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

 

विज्ञप्ति :

 

२२ असोज, २०८०

 

इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासद्वारा शनिबार अचानक गरिएको आक्रमणको घटनाप्रति हाम्रो पार्टी नेकपा (एमाले) निन्दा र भर्त्सना गर्दछ । निर्दोष नागरिक, बृद्धबृद्धा र बालबालिकाको हत्या र अपहरण जस्ता अमानवीय कार्यले प्यालेस्टिनी जनताले उठाउँदै आएको समस्या समाधान गर्दैन बरु थप बढाउन मद्दत गर्छ भन्ने हाम्रो पार्टीको ठम्याइ छ ।

नेकपा (एमाले) घटनामा परी निधन हुनेहरूप्रति श्रद्धाञ्जलीका साथै समस्त आफन्तजनप्रति समवेदना व्यक्त गर्दछ । यस आक्रमणमा नेपालीहरूको पनि ज्यान जानुका साथै ठूलो सङ्ख्यामा घाइते भएको समाचार आइरहेका छन् । कयौं अफ्ठ्यारो परिस्थितिमा परेको सूचना आइरहेका छन् ।

हामी यस घटनाबाट ‘लर्न एण्ड अर्न’ योजनाअन्तर्गत इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न जानुभएका विभिन्न विश्व विद्यालयका विद्यार्थीमध्ये १० जनाको निधन भएकोमा अत्यन्त दुःखित छौँ । मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै दशैँको मुखमा भएको यस पीडादायक घटनाबाट शोकमा पर्नुभएका परिवारजनमा गहिरो समवेदनाका व्यक्त गर्दछु । हामी सबै शोकमा छौँ । म सबैमा धैर्यधारण गर्न आग्रह गर्दछु ।

घटनामा परी घाइते हुनुहुनेहरूको तत्काल उपचार, अफ्ठ्यारोमा परेकाहरूलाई उद्धार तथा ज्यान गुमाउनु हुनेहरूको शव स्वदेश ल्याई परिवारलाई बुझाउने सुनिश्चितताका लागि म फेरि नेपाल सरकारसमक्ष जोडदार माग गर्दछु ।

केपी शर्मा ओली
अध्यक्ष