सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

२ महिनामा भित्रियो २ खर्ब २८ अर्ब रेमिट्यान्स

प्रकाशित समय: मगलवार, ०२ : ३१ बजे आश्विन ३० गते



२ महिनामा भित्रियो २ खर्ब २८ अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो दुई महिनामा झण्डै साढे २ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौमा २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

 

यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.१ प्रतिशत धेरै हो । अघिल्लो आवको पहिलो दुई महिनामा १९.८ प्रतिशतले बढेको रेमिट्यान्स यस वर्ष अझ वृद्धि भएको हो ।

 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले बढेर १ अर्ब ७३ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा भने भारी गिरावट आएको छ ।

 

साउन र भदौमा संस्थागत र व्यक्तिगत नयाँ श्रम स्वीकृति लिनको संख्या ७४ हजार ४५५ जना रहेको छ । पुनः श्रम स्वीकृति ३२ हजार ४ जना छन् । यो अघिल्लो आवको यसै अवधिको तुलनामा क्रमशः २८.३ र १८.३ प्रतिशतले कम हो ।

 

विदेशी मुद्राको सञ्चिति झण्डै १६ खर्ब रुपैयाँ हाराहारी पुगेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो दुई महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

 

साउनमा १५ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ रहेको विदेशी मुद्राको सञ्चिति एक महिनामा झण्डै २५ अर्ब ७८ करोड रुपैयाँ थप भई भदौ मसान्तसम्म १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । यो सञ्चिति आर्थिक वर्ष २०७९/८० को अन्तिम महिना (असार)को तुलनामा ३.९ प्रतिशत धेरै हो । अमेरिकी डलरमा भदौ मसान्तसम्म १२ अर्ब १ करोड विदेशी मुद्रा सञ्चिति रहेको देखिएको छ । यो असारको तुलनामा २.६ प्रतिशत धेरै हो ।

 

अहिलेको विदेशी मुद्राको सञ्चितिले १२.६ महिनाको वस्तु आयात गर्न पर्याप्त हुन्छ । १०.३ महिनाको वस्तु तथा सेवा आयातमा यो सञ्चिति पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।