सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १३ बैशाख २०८३ / Sunday, 26 April 2026

मुस्ताङलाई ५० करोड उपलब्ध गराउने प्रधानमन्त्रीको घोषणा

प्रकाशित समय: बुधवार, १२ : १७ बजे कार्तिक १ गते



मुस्ताङलाई ५० करोड उपलब्ध गराउने प्रधानमन्त्रीको घोषणा

जोमसोम, १ कात्तिक । प्रधानमन्त्रीले कार्यक्रममा जलवायु संरक्षण वापत नेपालले अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त गर्ने रू ५० करोड मुस्ताङ जिल्लामा पठाउने पनि घोषणा गरेका छन् । बुधबार मुस्ताङ जिल्लाको जोमसोममा राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आयोजित जलवायु संवाद कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफू अन्तर्राष्ट्रिय मञ्चहरूमा यसबारे गम्भीर रूपमा विषय राखेको बताए।

 

‘पछिल्लोसमय नेपालले जलवायु परिवर्तनका गम्भीर समस्या भोगिरहेको छ। हिमालय क्षेत्रमा यसको गम्भीर देखिएको छ। मुस्ताङ जिल्लामा पनि गम्भीर असर देखिएको कुरा मैले प्रत्यक्ष सुन्ने अवसर प्राप्त गरें। मैले संयुक्त राष्ट्रसंघको महासभा, रोममा आयोजित विश्व खाद्य सम्मेलनमा यसबारे गम्भीर रूपमा कुरा राखेको छु,’ प्रधानमन्त्रीले भने, ‘हिमालको संरक्षण भएन भने विकसित भनिएका मुलुकहरूसमेत सुरक्षित रहँदैनन्। जलवायु परिवर्तनको मुद्दा नेपालको मात्र नभएर विश्वको साझा मुद्दा हो’ प्रधानमन्त्रीले भन्नुभयो, ‘कोप सम्मेलनमा पनि यस विषयमा नेपालको गम्भीरपूर्वक विषय राख्नेछ। विकसित मुलुकहरूको कारण नेपाल जस्ता देशहरूले बेहोरेको क्षतिवापत हामीले अनुदान पाउनुपर्छ।’

 

मुस्ताङ जिल्ला बहुआयमिक विशेषता बोकेको जिल्ला हो। स्याउ उत्पादन र अन्य उत्पादनका दृष्टिले पनि यो महत्वपूर्ण छ, मुक्तिनाथ लगायत धार्मिक एवं सांस्कृतिक पर्यटनका केन्द्रहरू पनि यहाँ छन्। कोरला नाकाको विशेष रणनीतिक महत्व रहेकाले यहाँको जलवायु संरक्षण सरकारको प्राथमिकतामा रहेकाे प्रधानमन्त्री प्रचण्डकाे भनाइ छ।