सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

लुम्बिनीको राजधानी क्षेत्रको जग्गा ३ वर्षपछि फुकुवा

प्रकाशित समय: शुक्रवार, ०३ : २९ बजे कार्तिक ३ गते



लुम्बिनीको राजधानी क्षेत्रको जग्गा ३ वर्षपछि फुकुवा

घोराही । लुम्बिनी सरकारले प्रदेश राजधानी क्षेत्रको जग्गा टुक्राएर बेच्न नपाउने सर्तमा फुकुवा गरेको छ ।

 

प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले राजधानी क्षेत्र दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका १, २ र ३ नम्बर वडा तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाका ८ र ९ नम्बर वडामा गरिएको जग्गा रोक्का फुकुवा गर्ने निर्णय गरेको हो ।

 

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पूर्ण रूपमा जग्गा रोकी राख्दा नागरिकको जनजीवनमा समेत असर पर्न थालेपछि जनताको हितका लागि केही सर्त राखेर राजधानी क्षेत्रको जग्गा फुकुवा गरिएको बताए ।सरकारका गृहमन्त्री तथा प्रवक्ता सन्तोष कुमार पाण्डेयले सरकारले राजधानी क्षेत्रमा रोक्का भएको जग्गा सरकारले फुकुवा गरेको बताए ।

 

शुक्रबार मुख्यमन्त्री कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता पाण्डेयले सरकारको व्यवस्थित राजधानी निर्माणको अवधारणलाई असर नगर्ने र टुक्राएर बेच्न नपाउने सर्तमा रोक्का जग्गा फुकुवा गर्ने निर्णय भएको जानकारी दिए । स्थानीयको जनजीविका सहज गराउन र नागरिकका समस्या समाधानका लागि सरकारले यो निर्णय गरेको पाण्डेयको भनाइ छ ।

 

तीन वर्षअघि राजधानी कार्यान्वयनका लागि भन्दै शंकर पोख्रेल नेतृत्वको सरकारले राजधानी तोकिएको क्षेत्र राप्ती उपत्यकाको जग्गा बिक्री वितरण र खण्डीकरणमा रोक लगाएको थियो ।