काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै लगानी गर्न आह्वान गर्नुभयो । उहाँले अहिले मुलुकको अर्थतन्त्र सुदृढ बन्दै गएको र लगानीको उचित अवसर सिर्जना भएको बताउनुभयो । नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई निजी क्षेत्रका छाता संगठनले समेत सहयोग गर्ने भएकाले ढुक्कले लगानी गर्न सम्मेलनमा उपस्थित दुई दर्जन बढी देशका व्यवसायीलाई डा. महतले आग्रह गर्नुभयो । नेपालमा व्यावसायिक अवसर धेरै भएको भन्दै विदेशी लगानीकर्ताले प्रतिफल प्राप्त गर्न सक्ने उहाँले बताउनुभयो ।
एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसीआई) को संयुक्त आयोजनामा दुई दिनसम्म चल्ने ३७औँ क्यासी सम्मेलनलाई सम्बोधन गर्दै भूकम्प र कोरोना महामारीबाट उठ्दै गरेको नेपाललाई यस किसिमको भेलाले सहयोग पुग्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, –‘ नेपालमा गरिएको लगानीको भविष्य उज्ज्वल रहेको छ जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषिलगायतका क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस् । ’
उहाँले भारतले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रतिबद्धता गरेको भन्दै लगानीका लागि जलविद्युत् उपयुक्त क्षेत्र भएको बताउनुभयो । बंगलादेशले पनि विद्युत खरिद गर्न चासो देखाइरहेको अवस्थामा जलविद्युतमा गरिने लगानीमा प्रतिफल सुनिश्चित गरेको महतले बताउनुभयो ।
यस्तै सूचना र प्रविधि क्षेत्रमा समेत सरकारले लगानीको सम्भावना देखेको बताउदै भन्नुभयो, ‘यही सम्भावना देखेर चालू वर्षको बजेटमार्फत सूचना प्रविधि क्षेत्रमा आयकर घटाएको हो ।’ सफ्टवेयर निर्यात गर्दा बजेटमार्फत आम्दानीमा लाग्ने करमा ५० प्रतिशत छुटको सुविधा दिइएको छ अर्थमन्त्री महतले भन्नुभयो । ‘नेपालको आईटी सेक्टरमा ठूलो सम्भावना छ । विदेशी लगानीकर्ता पनि नेपालमा लगानी बढाउन इच्छुक छन्,’ उहाँले भन्नुभयो, ‘नेपालमा लगानी गर्नेलाई सरकारले स्वागत गर्छ । वातावरण बनाउँछ ।’
नेपालमा लगानी गर्नलाई ‘वान डोर विन्डो’ सञ्चालनमा रहेको र ठुला लगानीलाई सहयोग गर्न लगानी बोर्ड नै सञ्चालनमा रहेको महतले बताउनुभयो । नेपालमा लगानीका लागि थप वातावरण र कन्फिडेन्स सिर्जना गर्न आगामी फेब्रुअरीमा लगानी सम्मेलन आयोजनाकालागि सरकार जुटेको जानकारी दिदै महतले भन्नुभयो, ‘ विश्व बैंक र एडिबीले नेपालका दुई जलविद्युत आयोजनामा लगानीको तयारी गरिरहेका छन् । यसबाट नेपाल लगानीको केन्द्र रहेको पुष्टि हुन्छ । ग्रीन बन्डलगायतमा फाइनान्सिङ औजारहरुमा समेत लगानी गर्न मिल्ने गरि नेपाल सरकार अघि बढेको छ ।’
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ