काठमाडौं : भारतको अनुदान सहयोगमा स्थानीय तहमा कार्यरत नेपाली संस्थामार्फत साना विकास परियोजनाको कार्यान्वयन गर्न नेपाल सरकार र भारत सरकारबीचको द्विपक्षीय सम्झौता अन्तर्गत सुरु भएको उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम सञ्चालन भएको २० वर्ष पुरा भएको छ।
वि.सं २०६० कार्तिक २१ गते सुरु भएको विकास परियोजनामार्फत् नेपालमा देशभर नै विभिन्न विकासका कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् ।
विगतमा साना विकास परियोजनाको नामले चिनिने उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु नेपालसँगको विकास साझेदारीको नवीन एवम् महत्वपूर्ण अंशको रुपमा रहेको भारतीय राजदूतावासले जनाएको छ । नेपाल सरकारको प्राथमिकतामा रहेका क्षेत्रहरुमा पूर्वाधार निर्माण गरी नेपालका भुँइतहका मानिसहरुको जीवनस्तर सुधार्न यी परियोजनाहरुको कार्यान्वयन गरिएको भारत सरकारको भनाई छ ।
परियोजना सञ्चालन भएको २० वर्ष पुगेको उपलक्ष्यमा मंगलबार भारतीय राजदूतावासले भारत सरकारको अनुदान सहयोगमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निर्मित मंगलादेवी बर्थिङ (प्रसुति) सेन्टर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रतिनिधिहरुलाई हस्तान्तरण गरेको छ । ४ करोड रुपैयाँ भन्दाबढि लागतमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मंगलादेवी बर्थिङ सेन्टरको निर्माण गरिएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महत, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा उक्त बर्थिङ सेन्टर हस्तान्तरण गरे । सोही अवसरमा भारतीय अनुदान सहयोग अन्तर्गत नेपालका बैतडी र मुस्ताङ्ग जिल्लामा कूल अनुमानित लागत नेरु. १३ करोड लाग्ने थप तीनवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर गरियो ।
भारतीय राजदूत श्रीवास्तवले विगत २० वर्षमा उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनको यो यात्रा निकै सफल रहेको बताए । सन् २००३ यता शिक्षा, स्वास्थ्य, सडक तथा पुल, नदी प्रशिक्षण, खानेपानी, विद्युत, सिंचाइ, संस्कृति, समाज कल्याण जस्ता विविध क्षेत्रमा करिब ५५० वटा परियोजना यस ढाँचा अन्तर्गत अघि बढेकोमा सन्तोष व्यक्त गर्दै राजदूत श्रीवास्तवले यसले मानिसहरुको जीवनमा प्रत्यक्ष प्रभाव पारेको बताए ।
यीमध्ये ४८० वटा परियोजनाहरु सम्पन्न भइसकेका छन् भने बाँकी निर्माणाधीन अवस्थामा रहेका छन् । विगत बीस वर्षको अवधिमा नेपाल–भारत विकास सहकार्य अन्तर्गत नेपालमा हरेक पन्ध्र दिनमा एकभन्दा बढी नयाँ परियोजना वा हरेक वर्ष २७ वटा भन्दा बढी परियोजना कार्यान्वयन हुने गरेको छ ।
राजदूत श्रीवास्तवले नेपाल सरकारको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै भविष्यमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनलाई अझ व्यापक र सुदृढ बनाउने प्रतिबद्घता जनाए ।
कोशी प्रदेशमा ८४ वटा परियोजना, मधेस प्रदेशमा ८१ वटा परियोजना, बाग्मती प्रदेशमा १०५ वटा परियोजना, गण्डकी प्रदेशमा ६१ वटा परियोजना, लुम्बिनी प्रदेशमा ६० वटा परियोजना, कर्णाली प्रदेशमा १४ वटा परियोजना र सुदूरपश्चिम प्रदेशमा ४१ वटा परियोजनाहरु सञ्चालित छन् । यी परियोजनाहरु एकभन्दा बढी प्रदेशमा फैलिएका १०७ वटा परियोजना बाहेकका हुन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ