काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका निम्ति आज (आइतबार) घरेलु टिम भारतलाई अस्ट्रेलियाले चुनौती प्रस्तुत गर्दै छ । विश्वकपको १३औँ संस्करण चलिरहँदा भारत चौथो पटक फाइनलमा प्रवेश गरेको हो । भारतले यसअघि सन् १९८३ र २०११ मा विश्वकपको उपाधि जितेको थियो । २००३ मा भने भारत फाइनलमा अस्ट्रेलियासँग पराजित भएपछि उपविजेतामा सीमित बनेको थियो ।
यता, अस्ट्रेलिया भने आठौँ पटक एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको सर्वाधिक सफल टिमसमेत रहेको अस्ट्रेलियाले हालसम्म पाँच पटक उपाधि जितेको छ । अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकपको उपाधि जितेको थियो ।
फाइनलअघि अस्ट्रेलियाका कप्तान प्याट कुमिन्सले आफ्नो टिम भारतको ठूलो दर्शकलाई घरमै मौन बनाउने लक्ष्यमा रहेका बताएका थिए । “हामीलाई थाहा छ, रंगशाला पूरा भरी हुनेछ । भारतको समर्थनमा एक लाख ३० हजार दर्शक नै मैदानमा उपस्थित हुनेछन् । खेलमा ठूलो दर्शकलाई मौन बनाउनुभन्दा ठूलो सन्तोष अरू हुँदैन । र, फाइनलमा हाम्रो लक्ष्य यही हुनेछ,” कुमिन्सले भने ।
यस्तै, भारतका कप्तान रोहित शर्माले फाइनललाई लिएर आफ्नो टिम धेरै उत्साहित र ठूलो दबाबमा नरहेको बताए । “हामी फाइनललाई सहज र शान्त बनाउन चाहन्छौँ । जित हासिल गरे हाम्रो लागि राम्रो हुनेछ । तर, म फाइनलमा धेरै उत्साहित भएर टिममा दबाब थप्न चाहन्न,” रोहितले भने ।
फाइनल प्रवेशका क्रममा सेमिफाइनलमा भारतले न्युजिल्यान्डलाई ७० रनले र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले हराएका थिए । भारत जारी प्रतियोगिताको एकमात्र अपराजित टिम हो । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा हुने यो खेल नेपाली समयअनुसार दिउँसो २:१५ बजेदेखि सुरु हुनेछ ।
हेड टु हेड :
विश्वकपमा यी दुई देशबीच १३ खेल भएका छन् । भारत ५ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएकोछ । जारी विश्वकपमा भारत ६ विकेटले विजयी भएको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ