काठमाडौं । काठमाडौंमा आज (आइतबार)देखि पुन: द्रुत बस सेवा सञ्चालन गरिने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्कसम्म आइतबारदेखि पुन: द्रुत बस सेवा सञ्चालन गर्ने जनाएको छ।
पुन: द्रुत बस सेवा सञ्चालनका लागि ठाउँ–ठाउँमा बोर्ड राखिएको तथा सडकमा मार्किङ गरिएको (रातो रङ लगाइएको) छ। यस्तै, द्रुत सेवाका लागि ११ वटा बसहरु थप गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले थप ११ वटा बससहित पहिलेभन्दा व्यवस्थित तरिकाले द्रुत बस सेवा पुनः सञ्चालनमा ल्याइने दाबी गरेका छन्।
आइतबारदेखि ३६ वटा द्रुत बस सञ्चालनमा आउने र ती बस ३–३ मिनेटको फरकमा छुट्ने मन्त्री ज्वालाले बताए। बिहान र बेलुकी आवागमनको उच्च समय (पिक आवर) मा द्रुत बस कम भएको गुनासो आएकाले बसको सङ्ख्या थपेर चलाइने उनले स्पष्ट पारे।
सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले द्रुत बस सेवा सञ्चालनका लागि यसअघि करिब तीन करोड रुपियाँ खर्च भएको बताए। उनले अहिले पुनः सञ्चालनका लागि भएको खर्चबारे सार्वजनिक हुने बताए। द्रुत बस सेवा सञ्चालनको सम्पूर्ण जिम्मेवारी यातायात व्यवस्था विभागको रहेको उनले बताए।
काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक जामका बीच सार्वजनिक सवारी प्रयोग गर्ने यात्रुलाई छिटो गन्तव्यमा पुग्न सजिलो होस् भन्ने उद्देश्यले गत असोज ३ गते, संविधान दिवसका दिनदेखि सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा सञ्चालनमा ल्याइएको थियो। तर दशैंदेखि भने उक्त सेवा स्थगित भएको थियो। दशैंमा यात्रुहरुको चाप कम भएको भन्दै द्रुत बस सेवा बन्द गरिएको थियो।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ