सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

धितो भएका ऋणीलाई अब कालोसूचीमा राख्न नपाइने राष्ट्र बैंकको निर्देशन

प्रकाशित समय: बुधवार, ०४ : ०२ बजे मंसिर १३ गते



धितो भएका ऋणीलाई अब कालोसूचीमा राख्न नपाइने राष्ट्र बैंकको निर्देशन

काठमाडौं ।नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी र असुली सम्बन्धी नयाँ व्यवस्था गरेको छ ।

 

आज (बुधवार) एक निर्देशन जारी गर्दै केन्द्रीय बैंकले अब कर्जा लगानीकर्ता ऋणीको धितो हुँदासम्म कालो सूचीमा राख्न नपाइने व्यवस्था गरेको हो ।

 

राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८० परिमार्जन गर्दै नयाँ व्यवस्था गरेको हो ।राष्ट्र बैंकले भनेको छ, ‘जमानतदातालाई कालोसूचीमा समावेश गर्नु पूर्व ऋणीले सुरक्षण स्वरूप राखेको धितो लिलाम गरी असुली गर्नुपर्नेछ । यस्तो सुरक्षणबाट भएको असुली पर्याप्त नभई बैंकको लेना रकम बाँकी रहेमा सोको भुक्तानीका लागि जमानत दातालाई ९० दिनको समय प्रदान गर्नुपर्नेछ । सो सूचना अवधि पश्चात मात्र जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपर्नेछ’ राष्ट्र बैंकले निर्देशनमा भनेको छ ।

 

सबै प्रक्रिया पुर्‍याएर राष्ट्र बैंकको समेत निर्देशनमा कालो सूचीमा समावेश भएका व्यक्ति, फर्म, कम्पनी, संस्थाले बैंक तथा वित्तीय संस्थामा खाता (कल खाता समेत) खोल्न पाउने छैनन् । तर, कानुन बमोजिम सामाजिक सुरक्षा भत्ता एवम् पेन्सन रकम प्राप्त गर्ने प्रयोजनको लागि भने खाता खोल्न यस व्यवस्थाले बाधा नपुर्याउने राष्ट्र बैंकले जनाएको छ ।