सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १३ बैशाख २०८३ / Sunday, 26 April 2026

मुख्यमन्त्री पाण्डेको प्रश्न- कानुन संघीय सरकारले नबनाउने, गाली हामीले खानुपर्ने ?

प्रकाशित समय: मगलवार, ०५ : १८ बजे पुष ३ गते



मुख्यमन्त्री पाण्डेको प्रश्न- कानुन संघीय सरकारले नबनाउने, गाली हामीले खानुपर्ने ?

पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय सरकार र सांसदहरूका कारण आवश्यक कानुन नबनेको बताएका छन् । मंगलबार पोखरामा भएको कांग्रेस गण्डकी प्रदेशको पहिलो सम्मेलनमा बोल्दै केन्द्रीय सदस्यसमेत रहेका पाण्डेले साँच्चै संघीयता लागू गर्ने पक्षमा पार्टी छ कि छैन भन्ने प्रश्न पनि गरेका छन् ।

 

अहिले संघीयता र त्यसमा पनि प्रदेश सरकारमाथि प्रहार चौतर्फी प्रहार भइरहेको मुख्यमन्त्री पाण्डेले बताए ।‘यो संघीयता संविधानमा लेखेका कारणले मात्र हामीले मानिरहेका छौं कि साँच्चै हामी संघीयतालाई लागू गर्ने पक्षमा छौं ?,’ उनले प्रश्न गरे, ‘यदि हाम्रो पार्टी संघीयतालाई कार्यान्वयन गर्न दृढतापूर्वक उभिन्छ भने कानुन बनाउन कांग्रेस अग्रसर हुनुपर्छ ।’

 

‘म तपाईंहरुलाई साक्षी राखेर सभापतिज्यू, महामन्त्री र आदरणीय साथीहरु, यो जिम्मेवारी कसको हो ? संघीय कानुन बनाउने जिम्मेवारी कसको हो ?’ मुख्यमन्त्री पाण्डेले प्रश्न गरे, ‘तपाईंहरुले कानुन नबनाइदिएका कारणले हामीले कानुन बनाउन सक्या छैनौं । हामीले कानुन नबनाएका कारणले स्थानीय तहले कानुन बनाउन सक्ने छैन । कतिपय हामीले कानुन बनाएका छौं तर संघले कानुन नबनाएका कारणले लागु गर्न सकेका छैनौं । यो जिम्मेवारी तपाईंहरुले लिने कि नलिने ?’

 

उनले संघीय सरकार र सांसदहरूले आवश्यक कानुन नबनाएको बताए । ‘संघीय सरकार र सांसदहरूको नालायकीका कारण कानुन बनेको छैन,’ उनले भने, ‘कानुन नबन्ने अनि सडकमा प्रदेश सरकारले गाली खानुपर्ने? अव यो अवस्थाको अन्त्य हुनुपर्छ ।’

 

उनले पुस १३ गते प्रदेशका मुख्यमन्त्रीहरूको बैठक गर्न लागेको बताए । ‘यदि कानुन बनाउन नसक्ने हो भने प्रधानमन्त्री र दलका नेतृत्वहरूले प्रष्टताका साथ भन्नुपर्‍यो संघीयता खारेज गर्छौं भनेर,’ उनले भने, ‘कानुन नभएका कारण हामीले काम गर्न नपाएको कुरा महसुस गर्नुपर्‍यो ।’

 

भाषणमा सिंहदरबार घरघर पुर्‍याउँछौं र भने पनि प्रदेश सरकारलाई अधिकार दिने सवालमा संघीय सांसद पनि नबोलेको पाण्डेले बताए ।