सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १३ बैशाख २०८३ / Sunday, 26 April 2026

प्रधानमन्त्रीद्वारा उच्च क्षमताको इनरुवा सबस्टेसन उद्घाटन

प्रकाशित समय: शुक्रवार, १२ : ०८ बजे पुष ६ गते



प्रधानमन्त्रीद्वारा उच्च क्षमताको इनरुवा सबस्टेसन उद्घाटन

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरण इनरुवा सव स्टेशनको उद्घाटन गरेका छन् ।

 

शुक्रबार सुनसरीको इनरुवास्थित भोक्राहामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ४००/ २२०/१३२ /३३ केभी क्षमताको सवस्टेशन उद्घाटन गरेका हुन् ।सो समारोहमा बाल्दै प्रधानमन्त्री दाहालले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको बताएका छन्।

 

सुनसरी जिल्लास्थित इनरूवा सबस्टेशन उद्घाटन कार्यक्रममा उनले यसलाई सुनौलो दिनको संज्ञा दिँदै उक्त दिन छिट्टै आउने बतए।प्रधानमन्त्रीले विगतमा आफ्नै नेतृत्वको सरकारले जनतालाई अँध्यारो लोडसेडिङको कहालिलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको बताए।देशभित्र उत्पादित विद्युत् यही खपत गर्नका लागि सरकारले केही दिन अघिमात्र विद्युत् खपत बृद्धि सम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट पारित गरेको स्पष्ट पारे।

 

उनले भने, ‘सरकारको दिशानिर्देश, नेपाल विद्युत प्राधिकरणको योजना र नेपाली जनताको साथ र सहयोगले नेपालको उर्जा क्षेत्रले फड्को मारिरहेको छ । घर र बस्तीमा बत्ती बाल्न मात्र नभएर समृद्धि र देशलाई नै उज्यालो बनाउन विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका साथ अहिले उत्साहजनक कामहरु भइरहेका छन् ।’

 

उनले करिब ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने यो सबस्टेसनको उद्घाटनसँगै यस क्षेत्रको विद्युत प्रसारण र वितरणको गुणस्तर तथा विश्वसनीयता बढाउने पृष्ठभूमि तयार मात्र भएको, सरकारको उज्यालो र समृद्ध नेपाल कार्यक्रम सफलताको यात्रामा नयाँ अध्याय थपिएको समेत दाबी गरे ।

 

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ मा निर्मित यो सबस्टेसन, ग्याँस इन्सुलेटेड प्रणाली (जीआईएस)मा आधारित स्वचालित र धनुषाको ढल्केबरपछिको देशकै दोस्रो ठूलो विद्युत् सबस्टेसन हो।