काठमाडाैं । यस वर्षको एसईई परीक्षा आगामी चैत पहिलो साताबाट सुरु हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बुधबार शिक्षा पत्रकार सञ्जाल (इजोन) ले काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले यस वर्ष एसईई हुँदैन कि भन्ने भ्रममा नपर्ने सबैलाई आग्रह गरे।
संसद्मा विचाराधिन अवस्थामा रहेको शिक्षा विधेयकमा कक्षा १० को परीक्षा उल्लेख नरहेकाले यो वर्ष एसईई हुने वा नहुने भन्ने अन्योलका बीच अध्यक्ष शर्माले यस्तो जानकारी दिएका हुन्। ‘शिक्षा विधेयक संसदमा छलफलको क्रममै छ। त्यसैले बोर्डको निर्धारित तालिकाअनुसारै एसईई हुन्छ,’ उनले भने, ‘शिक्षा विधेयक संसदको पूँजी हो। यो विधेयक पास भएर कानुन नबनेसम्म परीक्षा एसईई परीक्षा रोकिँदैन। नियमित ढंगले हुन्छ।’
उनले एसईई परीक्षा सञ्चालनको लागि बोर्डले प्रदेश परीक्षा समितिसँग व्यवस्थापनको पहल गरेको जानकारी दिए। शर्माले गत कात्तिक १९ गते जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पले एसईई परीक्षा प्रभावित तुल्याउने देखिएकाले आफूले केही दिनअघि मात्रै ती क्षेत्रको स्थलगत अनुगमन गरी फर्किएको बताए।
‘दुई जिल्लामा भूकम्पले धेरै विद्यालयहरु भत्किएका छन्। हामीले स्थानीय पालिकाहरुमा परीक्षा संचालन र परीक्षा केन्द्र राख्न उपयुक्त छरछैन भनेर प्रधानाध्यापकहरूसँग भेटेर छलफल गर्यौं,’ अध्यक्ष शर्माले भने, ‘स्थानीय पालिका, जिल्ला समन्वय समिति, सामाजिक विकास कार्यालय र व्यवस्थापन समितिसँग छलफल भएको छ। परीक्षा तालिका अनुसारै संचालन हुनेछ।’
यस वर्षको लागि एसईई परीक्षामा सहभागी हुन ४ लाख ८९ हजार ४४४ जना विद्यार्थीले रजिस्ट्रेसन फारम भरेका बोर्डले जनाएको छ। कार्यक्रममा परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यो वर्ष पहिलो पटक नयाँ पाठ्यक्रमअनुसार परीक्षा हुने र विद्यार्थीले प्रत्येक विषयमा ३५ प्रतिशत अंक हासिल गर्नु पर्ने प्रावधान राखिएको जानकारी दिए।
‘यस वर्षदेखि एसईईमा हरेक विषयमा ३५ प्रतिशत अंक ल्याउनै पर्छ। त्यति अंक नल्याए कक्षा ११ मा भर्ना हुन पाइँदैन,’ उनले भने। एसईईमा अब एनजी (कुनै विषयमा ३५ प्रतिशत अंक नल्याएमा ननग्रेड हुन्छ) प्रणाली लागू हुने जानकारी उनले दिए।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ